काठमाडौं – विगतमा अवैध मुद्रा वा स्क्यामको रूपमा बुझिएको क्रिप्टोकरेन्सी तथा क्रिप्टोएसेटले अहिले विश्वभर वर्चस्व बढाउँदै गइरहेको छ। क्रिप्टोकरेन्सी कारोबार गराउने प्लेटफर्म बाइनान्सले पनि साम्राज्य फैलाउँदै गइरहेको छ। भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुसार संसारभर करिब चार सय ५० वटा क्रिप्टोकरेन्सी एक्सचेन्ज छन्। त्यसमध्ये सर्वाधिक प्रयोग हुने प्लेटफर्म हो, बाइनान्स।
शुन्यदेखि अर्बौं डलरसम्मको बाइनान्सको यात्रा प्रविधि, नवीनता र चुनौतीहरूले भरिएको छ। क्रिप्टोको सुरुवात सन् २००९ मा बिटक्वाइनबाट भएको थियो। जसलाई सतोशी नाकामोटो नामक अज्ञात व्यक्ति वा समूहले ओपन सोर्स सफ्टवेयरको रूपमा जारी गरेका थिए।
जसमा ब्लकचेन प्रविधिले बैंकिङ्ग प्रणालीविना लेनदेन सम्भव बनायो। यसपछि हजारौं क्रिप्टोकरन्सीहरू जन्मिए। क्रिप्टोकरेन्सी कारोबार गराउने प्लेटफर्मको रूपमा सन् २०१७ मा स्थापित बाइनान्सले क्रिप्टोकरेन्सीको क्षेत्रलाई नयाँ उचाई दियो।
क्रिप्टो र बाइनान्सको स्थापना इतिहास
क्रिप्टोकरेन्सीको इतिहास सन् २००९ बाट सुरु हुन्छ, जब बिटक्वाइनको पहिलो ब्लक माइन गरियो। यो प्रविधि पुरानो समयदेखि रहेको डिजिटल मुद्राको अवधारणामा आधारित थियो, तर यसले पहिलो पटक व्यावहारिक रूप धारण ग¥यो। क्रिप्टोकरेन्सीले विकेन्द्रीकृत मुद्रा प्रणाली र अभौतिक सम्पत्तिको सपना देखायो। जसमा व्यक्ति सम्पत्ति आर्जनमा आत्मनिर्भर हुन्छन्। यसपछि इथेरियम सन् २०१५ जस्ता प्लेटफर्महरू आए। जसले स्मार्ट कन्ट्रयाक्टहरू थपेर क्रिप्टोलाई थप शक्तिशाली बनाए।
बाइनान्सको कुरा गर्दा, यो सन् २०१७ मा चाङ्पेङ झाओ सीजेडद्वारा स्थापना भएको थियो। सीजेडले ओकेकोइनमा सीटीओको रूपमा काम गरेका थिए र उनले चीनमा बाइनान्स सुरू गरे। तर, चीनको क्रिप्टो प्रतिबन्धका कारण कम्पनीलाई जापान, माल्टा हुँदै विभिन्न स्थानमा सारियो।
बाइनान्सले आफ्नो आईसीओ मार्फत बीएनबी टोकन जारी गरेर मात्र ७ महिनामा अर्बौं डलरको कारोबार गर्ने प्लेटफर्म बन्यो। यो शून्यबाट सुरु भएको कम्पनीले २०१८ सम्ममा विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज बन्न सफल भयो, जसले सीजेडलाई अर्बपति बनायो।
शून्यबाट अर्बको यात्राः विकास र चुनौतीहरू
बाइनान्सको यात्रा नवीनतम प्रविधिको उदाहरण पनि हो। यो प्लेटफर्मले स्थापनाको तीन वर्षमै दैनिक ट्रेडिङ भोल्युममा विश्व नेतृत्व ग¥यो। कम्पनीले स्टेबल क्वाइन, एनएफटी, डेफाइ जस्ता सुविधाहरू थपेर आफूलाई विस्तार ग¥यो। २०१९ मा भएको सुरक्षा उल्लङ्घनपछि पनि यसले मजबुत फर्कियो। क्रिप्टो बजारको उतारचढावमा बाइनान्सले अर्बौँ डलर कमायो। जसमा २०२३ मा यसको आम्दानी १६.८ अर्ब डलर पुग्यो। २०२४ मा बाइनान्सको ७।३५ ट्रिलियन डलरको कारोबार गरेको थियो, जसले यसलाई विश्वका क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्महरू र अरू चर्चित कम्पनीहरू मध्येको नाफामुखी प्लेटफर्मको रूपमा स्थापित गर्याे। क्रिप्टो क्षेत्रमा बाइनान्सले ट्रेडिङ, स्टेकिङ र लन्चपूल जस्ता सेवाहरूबाट अर्बौँ कमाएको छ।
मुख्य लगानीकर्ता, मुख्य कार्यालय र नियामकहरू
२०२५ मा बाइनान्समा संयुक्त अरब इमिरेट्सको अबु धाबीको एमजीएक्सले २ अर्ब डलर लगानी गरेको छ, जुन क्रिप्टो क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। अन्य लगानीकर्तामा भर्टेक्स भेन्चर्स, बिग क्यान्डल क्यापिटल आदि छन् । यसको कुल फन्डिङ २.०२ अर्ब डलर पुगेको छ। मुख्य कार्यालयको कुरा गर्दा यसको आधिकारिक मुख्यालय छैन। यसको रजिस्टर्ड ठेगाना केम्यान आइल्याण्ड्समा छ । तर कार्यालयहरू माल्टा, सिंगापुर, जापान जस्ता मुलुकुहरूमा छन।
नियामकीय पक्षमा बाइनान्सले विभिन्न चुनौतीहरू सामना गरेको छ। अमेरिकाको एसईसीले २०२३ मा मुद्दा दायर गरेको थियो। जसलाई २०२५ मा खारेज गरियो। यूकेको एफसीए, जर्मनी लगायतका नियामकहरूबाट चेतावनी आएको छ। कम्पनीले कम्प्लायन्समा २०० मिलियन डलरभन्दा बढी खर्च गरेको छ र नियामकहरूको मापदण्ड पूरा गर्न प्रयासरत छ।
आम्दानीको स्रोत र रोजगारी
बाइनान्सको आम्दानी मुख्य रूपमा ट्रेडिङ शुल्क, मार्जिन ट्रेडिङ र अन्य सेवाबाट आउँछ। सन् २०२३ मा यसको आम्दानी १६.८ अर्ब डलर थियो। यो अघिल्लो वर्षभन्दा ४० प्रतिशत बढी हो। सन् २०२४ मा क्रिप्टो बजारको वृद्धिसँगै यसको वार्षिक ट्रेडिङ भोल्युम ३.४ ट्रिलियन डलर पुग्यो। २०२५ को पहिलो आधामा बजार ९६.२ प्रतिशत बढेको छ।
रोजगारीको क्षेत्रमा बाइनान्सले ठूलो योगदान दिएको छ। २०२५ सम्म यसका कर्मचारीहरूको संख्या पाँच हजारदेखि १० हजारसम्म पुगेको छ। बाइनान्सको भविष्यका सम्भावनाहरू सन् २०२५ मा बाइनान्सको भविष्य उज्ज्वल रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू बताउँछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नियामकीय सुधारका कारण क्रिप्टो बजारले नयाँ उचाइ छुने अनुमान छ। कम्पनीले नयाँ लिस्टिङहरू, एआई एजेन्ट प्लेटफर्महरू जस्ता भर्चुअल प्रोटोकल र अन्य प्रोजेक्टहरूमा फोकस गर्दैछ।






About Us
प्रतिक्रिया