वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६३ लाख लाख ठगी गर्ने चार जना प्रहरीको फन्दामा 


काठमाडौं – वैदेशिक रोजगारी लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको ऐसेलु खर्क घर भई हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ४१ वर्षीय रमेश कुमार निरौला, सिन्धुपाल्चोकको भोटेकोशी घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने ६४ वर्षीय चित्र बहादुर कार्की, महोत्तरी घर भई काठमाडौं बस्ने २३ वर्षीय हैदर अली र भक्तपुरको चाँगुनारायण घर भएका २२ वर्षीय दिनेश पुरी रहेका छन्।  

त्यस्तै, उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ६३ लाख लाख ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये निरौला माथि यसअघि नै प्रहरी वृत्त सिंहदरबार,काठमाडौंमा ९० हजार बिगो भएको बैंकिङ्ग कसुर मुद्दा दर्ता रहेको थियो।

साथै,निरौलाले १ जनलाई पोल्याण्ड पठाइदिन्छु भन्दै पाँच लाख चालिस हजार, कार्कीले १ जनालाई  इजराइल पठाइदिन्छु भन्दै १३ लाख, अलीले ६ जनालाई सर्विया पठाइदिन्छु भन्दै ३२ लाख ५० हजार र पुरीले २ जनालाई क्रोएसिया पठाइदिन्छु भन्दै १२ लाख ४० हजार ठगी गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयहरूमा पठाइएको प्रहरीले जनाएको छ।