काठमाडौं – शिक्षक नियुक्ति प्रक्रियामा घुस लिएको आरोपमा रौतहटको राजदेवी नगरपालिका–७ स्थित श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद र सोही स्थानका अरविन्द प्रकाश साह कानु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पक्राउ गरेको छ। विद्यालयले करार शिक्षकका लागि खुलाएको दरखास्तमा सहभागी एक सेवाग्राहीले परेको उजुरीका आधारमा गरिएको विशेष निगरानीपछि दुवै जनालाई ४ लाख ५० हजार रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार प्रधानाध्यापक सञ्जय प्रसादले रसायन विज्ञान विषयका करार शिक्षक नियुक्तिका लागि दरखास्त दिने सेवाग्राहीलाई परीक्षा प्रश्नपत्र उपलब्ध गराइदिने र करारमा नियुक्ति दिलाइदिने भन्दै अरविन्द प्रकाश साह कानुसँग मिलेमतो गरी सोही रकम मागेर लिएको प्रमाणित भएको छ।
अनुसन्धान पूरा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै विरुद्ध विशेष अदालत, काठमाडौंमा आज आरोप पत्र दायर गरेको हो। प्रधानाध्यापक प्रसादविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिम मुद्दा दायर गर्दै बिगो रकम चार लाख ५० हजार कायम गरी कैद र जरिवानाको माग गरिएको छ।
त्यस्तै, अरविन्द प्रकाश साह कानुविरुद्ध सोही ऐनको दफा ३९२० अनुसार कसुर ठहर गर्दै समान बिगो कायम गरी कैद र जरिवानाको माग दाबीसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।अख्तियारले शिक्षक नियुक्ति जस्तो संवेदनशील क्षेत्रमा घुस–रिसवतका घटना दुःखद भएको बताउँदै यस्ता कार्यमा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कडा कारबाही हुने स्पष्ट गरेको छ।






About Us
प्रतिक्रिया