लगानीकर्ता सुनतर्फ ‘सिफ्ट’, नीतिगत सहजताका बाबजुद रुमल्लिँदै शेयर बजार


काठमाडौं – लगानीकर्ता शेयर छाडेर सुन र चाँदीतर्फ झुम्मिन थालेका छन्। विश्व बजारमा निरन्तररुपमा सुनचाँदीको मूल्य बढ्दै जाँदा नेपालका लगानीकर्ताहरू समेत यसतर्फ आकर्षित भएका हुन्। नेपाल राष्ट्र बैंकले शेयर बजार बढाउनका लागि ल्याएका विभिन्न लचिलो नीतिपछि समेत बजार बढ्न नसक्नुले समेत यसलाई थप पुष्टि गर्छ। राष्ट्र बैंकले शेयर धितो कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा खारेजीपछि पनि बजार परिसूचकमा तीव्र ओरालो लाग्न थालेको छ।

केन्द्रीय बैंकले मार्जिन कर्जाको सीमा हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याउँदा पनि त्यसपछिका शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा खासै सुधार नआएको तथ्याङकले देखाउँछ। यता भदौ मसान्तसम्ममा वाणिज्य बैंकहरुले १ खर्ब २१ अर्ब ७० करोड मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन्। तर, पनि बजारमा सकारात्मक सूचक देख्न सकिएको छैन।

लगानीकर्ता शेयर छाडेर सुन र चाँदीतर्फ झुम्मिन थालेका छन्। विश्व बजारमा निरन्तररुपमा सुनचाँदीको मूल्य बढ्दै जाँदा नेपालका लगानीकर्ताहरू समेत यसतर्फ आकर्षित भएका हुन्।

भदौ मसान्तसम्ममा मात्रै वाणिज्य बैंकहरुले १ खर्ब भन्दा बढी ‘मार्जिन लोन’ प्रवाह गर्दा समेत शेयर बजारले गति लिन सकेको छैन। राष्ट्र बैंकले लगानीकर्ताको अधिकांश मागहरूलाई सम्बोधन गर्दै आएको छ। राष्ट्र बैंकले पुँजी बजार विकास र विस्तारका लागि खुकुलो नीति बनाउँदा समेत बजारले २५ सयदेखि २६ सयको बिन्दुमा घुमिरहेको हो। यो अवस्थामा शेयर बजारमा आउन चाहने नयाँ लगानीकर्ता र पुरानै लगानीकर्तामा समेत अन्यौलता सिर्जना भएको छ । यससँगै शेयर बजारका लगानीकर्ताहरू सुन तर्फ झुम्मिन थालेका हुन्। 

लगानीकर्ता सुनमा केन्द्रित

पछिल्लो समय शेयर बजारका लगानीकर्ताहरू शेयर बजार छोडेर सुनतर्फ आकर्षित बनेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएर प्रतितोला साढे २ लाख पुगेको छ। साथै, यो कम्तीमा ३ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँ प्रतितोलासम्म पुग्ने आँकलन भइरहेको छ। यही कारण, यतिबेला लगानीकर्ताहरू शेयर बजारको रकम झिकेर सुनतर्फ ‘स्विफ्ट’ भएका हुन्।

एक तर्फ सुन जुन हरेक दिन जसो नयाँ रेकर्ड बनाइरहेको छ र अर्कोतर्फ शेयर बजार जो बढ्ने टुङ्गो छैन। यस्तो अवस्थामा शेयर बजारका लगानीकर्ता समेत सुनतिर आकर्षित भएका हुन् कि भन्ने आकलन गर्न सकिन्छ। नेपाल सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष तेजरत्न शाक्य अहिले लगानी गर्ने सुरक्षित क्षेत्र नदेख्दा शेयर बजारका लगानीकर्ताहरू शेयर बेचेर सुनमा लगानी गर्न थालेको बताउँछन्। शेयर बजार मात्र नभए पछिल्लो समय बैंकको मुद्दती निक्षेप (फीक्स डिपोजीट) बाट समेत सुनमा लगानी आइरहेको शाक्यले बताए।

‘हाल नेपालमा शेयर बजारको स्थिति त्यति राम्रो छैन किन कि लगानीकर्ताकाे स्तर छैन, नीति नियमहरू कुनै पनि भरपर्दो भइरहेको छैन,’ उनले भने, ‘यस्तो बेला यता सुनले हरेक दिन जसो नयाँ रेकर्ड बनाइरहँदा शेयर बजारका लगानीकर्ताहरूले पनि सुनमा लगानी गर्न थालेका छन्।’ यतिबेला सुन नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा नै सुरक्षित लगानीको माध्यम बनेको छ। यही कारण, नेपालका लगानीकर्ताले समेत सुनमा आफ्नो लगानी थुपार्न थालेका छन्।

यस्तै, गत वर्षको असोजसम्मको अवधिमा समेत सुन आयात १ लाख १५५ ग्राम मात्रै थियो। जबकि, नेपाल बैंकर्स संघका अनुसार यो वर्षको असोजमा मात्रै ४०० किलोग्राम सुन आयात भएर ३२२ किलोग्राम बजार गइसकेको छ।

तर, शेयर बजारका लगानीकर्ताहरू भने शेयर छोडेर सुनमा लगानी गर्न थालेको कुरालाई स्वतः अस्वीकार गर्छन्। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे लगानीकर्ताले बजारबाट पैसा झिकेर सुनमा लगानी गरिरहेको भन्ने विषय सही नभएको बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा भन्छन्, ‘यसो भएको छैन। यतिबेला बजार पर्ख र हेरको नीतिमा हुँदा लगानीकर्ताले लगानी ल्याउँदा पनि यथावत् बनिरहेको छ।’ उनका अनुसार लगानीकर्ताले बजारबाट पैसा झिकेको भए यतिबेला शेयर बजार परिसूचक ओरालोतर्फ हुन्थ्यो।

तर, पाण्डेले भनेजस्तै बजार नघटे पनि बढ्न भने सकेको छैन। राष्ट्र बैंकले २५ करोडको सीमा हटाइदिएको छ भने अर्थमन्त्री समेत लगानीमैत्री मानिन्छन्। यस्तो अवस्थामा पनि बजार बढ्न नसक्नुले लगानीकर्ता सुनतर्फ स्विफ्ट भएको देखाउँछ।

३ महिनामा ६०० किलोग्राम सुन आयात

हरेक दिन जसो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कीर्तिमानी कायम हुँदा समेत सुन किन्नेहरूको संख्यामा भने कमी आएको छैन। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अत्यधिक बढेर प्रतितोला साढे २ लाखभन्दा माथि पुग्दा समेत सुन खरिदकर्ता घट्नुको साटो उल्टै बढिरहेका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म मात्रै ६०० किलोग्राम सुन आयात भएको छ।

हरेक दिन जसो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कीर्तिमानी कायम हुँदा समेत सुन किन्नेहरूको संख्यामा भने कमी आएको छैन।

भन्सार विभागको तथ्यांकले पनि भदौ महिनासम्मको अवधिमा २ लाख १० हजार ग्राम सुन आयात भएको देखाउँछ। यसको मूल्य ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँभन्दा बढी हुन आउँछ। जबकि, गत आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा १ लाख १५५ ग्राम मात्रै सुन आयात भएको थियो। यस्तै, गत वर्षको असोजसम्मको अवधिमा समेत सुन आयात १ लाख १५५ ग्राम मात्रै थियो। जबकि, नेपाल बैंकर्स संघका अनुसार यो वर्षको असोजमा मात्रै ४०० किलोग्राम सुन आयात भएर ३२२ किलोग्राम बजार गइसकेको छ।