मुम्बईबाट गभर्नर महाप्रसाद अधिकारीको अन्तरवार्ताः क्रसबोर्डर ट्रान्जेक्सनलाई डिजिटल बनाउँदा कारोबार धेरै पारदर्शी हुन्छ

मुम्बईबाट गभर्नर महाप्रसाद अधिकारीको अन्तरवार्ताः क्रसबोर्डर ट्रान्जेक्सनलाई डिजिटल बनाउँदा कारोबार धेरै पारदर्शी हुन्छ

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बईमा चली रहेको ग्लोबल फिनटेक फेष्ट कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र  बैंकिङ्ग समाचारको प्रकाशक राजु ढुंगेलबीच भएको कुराकानी:  

ग्लोबल फिनटेक फेष्ट कार्यक्रममा सहभागि हुन पाउँदा कस्तो लाग्यो ? 

वास्तवमा यो ग्लोवल फिनटेक फेस्टिवल मुम्बईमामा आयोजना भैरहेको छ । एउटा महत्पूर्ण जमघट छ । संसारभरिबाट ५० औं हजार मान्छेहरू एकै ठाउँमा भेला भएर, फिनटेकको सम्बन्धमा, फाइनान्सियल इन्कुलजनको सम्बन्धमा , इनोभेसनको सम्बन्धमा, प्रविधिको विस्तारिकरणको सम्बन्धमा आफू–आफूले गरेको काम , आफ्ना पहलहरु, वास्तवमा एक आपसमा शेयर गर्ने, छलफल गर्ने र भोलिको लागि हामी कसरी बढ्न सकिन्छ भन्ने विषयक बहस साँचिकै राम्रो छ । विभिन्न देशमा आफ्नो किसिमले क्रस बोर्डर कारोबारलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर छलफल गरिराख्नु भएको छ । यही सिलसिलामा एउटा सेसनमा आफ्नो भनाई प्रस्तुत गर्न म पनि यहाँ आएको छु । सेसन मेरो लागि पनि धेरै नै फलदायी लाग्यो ।

नेपाल र भारतबीच क्रस बोर्डर क्युआर पेमेन्टको सुरुवात भएको छ, के भन्नुहुन्छ ? 

नेपाल र भारत दुईवटा मुलुक अत्यन्तै सौहार्दपूर्ण सम्बद्ध भएको ऐतिहासिक सम्बन्ध भएका मुलुक हुन् । यो शिलशिलामा नेपालबाट भारतमा विभिन्न प्रयोजनलाई हामीहरु आउने र जाने गर्छौ जस्तैः भ्रमण, धार्मिक भ्रमण, पढ्न लगायत र भारतबाट पनि अधिकांश धार्मिक पर्यटकहरु र व्यवसायिक गतिविधिका लागि जाने गर्छन । यस्तै जाने–आउने शिलशिलामा वित्तीय कारोबार डिजिटल माध्यमबाट कारोबार गर्ने, भौतिक नोट बोकेर हिड्न नपर्ने गरि हामीले केही काम गर्न खोजीरहेका छौँ । केही समय अगाडि देखि नै हामीले एमपिसिआई र एनसिएचएलबिच साझेदारी भयो जुन दुवै देशका सम्मानिय प्रधानमन्त्रीहरुको उपस्थितिकाबीच भयो । त्यसलाई अगाडि कसरी बढाउन सकिन्छ र सगैँ आज फोन–पे ले पनि थप क्युआरका लागि पहल गरेको छ । यसबाट हामीले के आशा गर्न सक्छौ भने भोलिको दिनमा कसरी आफ्नो मुलुकभित्र डिजिटल रुपमा पेमेन्ट गर्न थालेको छौ, त्यस्तै स्थिति दुई देशबीच आउँछ जस्तो लाग्छ । हामी दुई देशबीचको सम्बन्ध व्यवसायिक, सास्कृतिक, ऐतिहासिक रुपले अलिक फरक छ । यसले गर्दा क्रसबोर्डर ट्रान्जेक्सनलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्नलाई सजिलो हुन्छ । 

क्रसबोर्डर क्युआर  पेमेन्टलाई तपाईले कसरी बुझ्नुभएको छ ? यसको प्रयोग सर्वसाधारणले कसरी गर्न सक्छन् ?

 यसमा डिजिटलका विभिन्न माध्यहरु छन्  । त्यस्ता माध्यहरुमध्ये मोबाइलकै माध्यमबाट धेरै खालको पेमेन्टहरु हुन्छ । जस्तो भारतमा यु पि आई र रु पे कार्ड अलिकति लोकप्रिय छन । त्यसैगरी क्युआर त्यतिकै लोकप्रिय  छ । नेपालमा पनि अहिले हामीले हेरिराख्दा आइपिएस, कनेक्ट आइपिएस अनि क्युआरका माध्यमहरु अलिक लोकप्रिय छन् । यस्तै नेपालले पनि नेपाल पे कार्डहरु ल्याउन लागेको छ । चाडै नै हामी त्यो कार्डहरु ल्याउनेछौँ । नेपालका यी डिजिटल माध्यमहरु र भारतमा भएका ती माध्यमहरु आफ्नो–आफ्नो  इफोर्ट प्रयोग गरेर इन्डीकेट गर्ने र एक आपसमा यी स्विचहरुको माध्यमबाट त्यसको पेमेन्टको सेटलमेन्ट गर्ने कुराहरू हुन्छ । अहिले  नेपालभित्र कुनैपनि सामानहरु किन्दा होस या होटलमा जाँदा ,चिया खाँदा डिजिटल प्रणालीको प्रयोग गरी भुक्तानी गर्न सक्दछौँ । 

त्यसैगरी हाम्रो अपेक्षा भनेको नेपालबाट भारत जाँदा, किनमेल गर्दा, चिया खाँदा, ट्याक्सीको भाडा तिर्दा हाम्रो नेपाली खाताबाटै मोबाइलको माध्यमबाट तिर्न सकिने अवस्था होस् । र भारतीय पर्यटक पनि नेपाल आउँदा उनीहरुले पनि पैसा निकाल्न नपरोस । उनिहरुले आफनै खाताबाट मोबाइलकै माध्यमबाट गर्न सक्ने  गरि कुनैपनि साधन प्रयोग  गर्नसक्ने खालको वातावरण बनाउन खोजेका छौं ।  यो चरणबद्ध हुने कुरा हो । एकैपटक सबै काम त हुँदैन तर यसको सुरुवात हामी चाडैं नै गर्छौं ।

के क्रस बोर्डर क्युआर  पेमेन्टले अनौपचारिक माध्यमबाट भैरहेको भुक्तानीलाई रोक्न सक्छ त ?

पक्कैपनि हामीले आश गर्न सक्छौ । मैले भनिराख्नु पर्दैन । यहाँहरु सबै सचेत नै हुनुहुन्छ। यो डिजिटल मोड भनेको धेरै भन्दा धेरै पारदर्शी हुन्छ । सुशासन ल्याउँछ । सरकारको राजस्व पक्का हुन्छ । सबै कुरा पारदर्शी हिसाबले आउँछ। यस्तो भएमा मानिसहरु कतिपय अवस्थामा अरु खालका झनझट भएर पनि त्यो अनौपचारिक कारोबार गर्नेहरु देखिन्छ । यो मोड सरल माध्यमबाट कम मूल्यमा हुने भएका कारणले मानिसहरु अनौपचारिक कारोबारबाट औपचारिक कारोवार गर्छन भन्ने पनि आशा गरेका छौं । 

नेपालमा बसेर डिजिटल फिनटेक कम्पनीमा काम गर्नेहरुलाई यस्तो खालको सम्मेलनबाट के फाईदा पुग्नसक्छ ?

हामीकहाँ पनि सानोतिनो यस्तो फिनटेक कार्यक्रम नहुँने त होईन । भइरहेको हो । यहाँ पनि आज पाँच दर्जन नेपालीहरुले सहभागि हुनुभएको छ । यसबाट पनि हामीले केही पाठ सिक्छौँ। हाम्रो साईज पनि सानो भएकोले हाम्रो कारोवारहरुको आयोजना गर्दा सानो हुने गर्दछ। तर हामीले क्रमशः यसलाई  फाइनान्सियल हब हाम्रो मुलुकलाई पनि बनाउन सक्छौं । फिनटेकमा यहाँको विकास पनि राम्रो छ। स्टार्टअपमा राज्यले गरेको लगानी र सर्वसाधारण युवाहरुको सहभागिता अत्यन्त राम्रो रहेको छ । जुन कुरा हामीले गर्न सकिरहेका छैनौं । यसले गर्दा त्यो खालको काम राज्यको तर्फबाट, जनताको तर्फबाट पनि र उद्यमीहरुको सहभागितामा पनि त्यो काम गर्न सक्छौँ। सम्मेलनहरुको सम्बन्धमा विश्वभरिका मानिसहरु जस्तै सिंगापुरमा पनि यही खालको सम्मेलन प्रत्येक वर्ष हुने गर्दछ ‌। त्यसमा पनि राम्रो सहभागिता हुने गरेको हामी देख्छौ । यहाँ चाहिँ जनसङ्ख्याको हिसाबले पनि मैले सुने सम्म १०२ मुलुकका मानिसहरुको सहभागिता छ । ४० देशबाट त बोल्ने वक्ताहरुनै हुनुहुन्छ । हामीले पनि यस्तै निमन्त्रणा गरेर, यस्तै खालका सम्मेलनहलहरु पनि गर्न सक्छौँ । तर हाम्रा संरचनाहरु पनि एकदम कमजोर छन् । पूर्वाधारहरु पनि त्यसरीनै विकास गर्दै जानुपर्यो। पचासौं हजारौं मान्छेहरु अट्ने हामीहरुसँग त्यस्तो हल छैन । यस्तो पनि ख्याल गर्नुपर्यो । र सँगै यस्तो खालको कार्यक्रम हामी पनि आयोजना  गर्न सक्छौं तर समय भने पक्कै लाग्छ । 

नेपालमा पनि सरकार र नीजी क्षेत्रबीच समन्वय गरेर यस्तो कार्यक्रम गर्न सकिन्छ त ? 

हाम्रो स्तर अनुसारको कार्यक्रम गर्न सकिन्छ । र यो आवश्यक पनि हुन्छ । किनकी हामीले हाम्रो इन्नोभेसन र प्रविधिलाई प्रचार गर्नलाई यस्ता खाले कार्यक्रमहरु आवश्यक पर्दछ । हामी इन्नोभेसन र प्रविधिलाई छोडेर हामी अगाडि बढ्न सक्दैनौँ । यसलाई अवलम्बन नगरी शुखै छैन । र अवलम्बन गर्नलाई प्रत्येक एजेन्सी चाहे सरकार होस , चाहे नीजी क्षेत्र होस, चाहे बैंकिङ समुदाय होस, चाहे फिनटेक कम्पनीहरु होस सबै कुनै न कुनै किसिमले यसमा लाग्न जरुरी छ । यसअर्थमा पनि हामीले यस्तो कार्यक्रम गर्न जरुरी छ।