प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन २०२५’ काठमाडौंमा हुँदै


काठमाडौं – काठमाडौंमा प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन हुने भएकाे छ। फिन्टेक अलायन्स नेपाल र काठमाडौं फिन्टेकको संयुक्त आयोजनामा, फोनपे, भिसा, आदिस्वान लगायतका प्रमुख फिन्टेक तथा प्रविधि कम्पनीहरूको सहयोगमा प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिन्टेक सम्मेलन २०२५’ मंसिर ४ गते काठमाडौंमा आयोजना हुने भएको हाे।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी–गभर्नर बमबहादुर मिश्रले गर्नेछन्। सम्मेलनमा बैंक तथा फिन्टेकका उच्च नेतृत्व, नियामक निकायका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय वक्तासहित १५० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा एआईले बैंकिङ्ग तथा फिन्टेक क्षेत्रमा ल्याउन सक्ने रूपान्तरण र यसको व्यावहारिक प्रयोगबारे विस्तृत छलफल हुनेछ। डिजिटल भुक्तानी प्रणाली, साइबर सुरक्षा, ग्राहक अनुभव सुधार, जोखिम व्यवस्थापन, वित्तीय समावेशिता तथा बैंकिङ्ग सेवाको आधुनिकीकरण जस्ता विषयमा वक्ताहरूले आफ्ना धारणा प्रस्तुत गर्नेछन्।

कार्यक्रममा भारतीय फिन्टेक विशेषज्ञ दिपक शर्मा, भिसाका डिजिटल भुक्तानी समाधान तथा एजेन्टिक एआई प्रमुख राजगोपाल पी, एचडीएफसी बैंकका वरिष्ठ लिड डेटा साइन्स विज्ञ क्रित दोशी तथा फ्युजमेसिन्सका प्रोडक्ट उपाध्यक्ष जियोभान्नी लेमसले अन्तर्राष्ट्रिय वक्ताका रूपमा प्रस्तुति दिनेछन्।

साथै, राष्ट्र बैंकका निर्देशक सुबास चन्द्र घिमिरे, नबिल बैंकका मुख्य कार्यकारी अधिकृत मनोज ज्ञवाली, एनएमबी बैंकका सीईओ गोविन्द घिमिरे तथा ग्लोबल आईएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको समेत विशेष सहभागिता रहनेछ।

आयोजक काठमाडौं फिन्टेकका संस्थापक तथा फिन्टेक अलायन्स नेपालका संस्थापक पूर्वअध्यक्ष सन्जिब सुब्बाकाअनुसार सम्मेलनले नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा एआईको प्रभावकारी प्रयोगलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण मोड बन्ने विश्वास गरिएको छ।

थप जानकारीका लागि Kathmandu Fintek मार्फत सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।