नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा तत्कालीन सचिव पक्राउ 


काठमाडौं – काठमाडौं दरबारमार्गस्थित नेपाल ट्रस्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिने–लिने प्रक्रियामा भएको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा थप एक जना पूर्व अधिकारी पक्राउ परेका छन्।

यसअघि पक्राउ परेका तत्कालीन सह सचिव लेख बहादुर कार्कीको अनुसन्धान अघि बढ्दै जाँदा नेपाल ट्रस्ट कार्यालयका तत्कालीन सचिव (हाल अवकाशप्राप्त) अर्जुन कुमार कार्कीको समेत संलग्नता रहेको प्रमाण फेला परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनलाई २०८२ कार्तिक ३० गते पक्राउ गरिएको हो।

नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच २०७४ साल जेठ १४ गते गरिएको लिज सम्झौतामा सूचनामा उल्लेखित कित्ता नम्बर ४६०६ बाहेक अतिरिक्त रूपमा कित्ता नम्बर ४६०५ समेत समावेश गरी ३० वर्षका लागि लिज दिने निर्णय अवैध तवरले गरिएको अनुसन्धानबाट खुलेको छ।

उक्त सम्झौताको कारण नेपाल ट्रष्टमार्फत नेपाल सरकारलाई दीर्घकालीन हानि–नोक्सानी पुगेको भन्दै यसमा संलग्न विभिन्न पदाधिकारी तथा सम्बन्धित व्यक्तिहरूले गैरकानूनी लाभ लिएको आशंकामा अनुसन्धान तीव्र गरिएको प्रहरीले जनाएको छ।

दोलखा जिल्लाको जिरी नगरपालिका–६ निवासी कार्कीमाथि ठगी, आपराधिक विश्वासघात तथा राज्यको सम्पत्तिमा हानी पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुद्दामा अन्य व्यक्तिहरूको संलग्नताबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।