विदेशी लगानी सुदृढ गर्न अर्थ मन्त्रालयले गठन गर्यो फोकल युनिट, बैंकिङ्ग तथा राजस्वसँग सम्बन्धित विषय प्राथमिकतामा


काठमाडौं – अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ।

मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित बैंकिङ्ग , राजस्व र अन्य सरोकारका विषयहरूमा आवश्यक समन्वय तथा सहजीकरण यही युनिटमार्फत हुनेछ।

उक्त युनिटले लगानी प्रवाहमा देखिने अवरोध हटाउन र समयमै सेवा प्रवाह सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।