मंसिर ७ गतेदेखि आइपिओ निष्कासन गर्दै सोलु हाइड्रोपावर


काठमाडौं – सोलु हाइड्रोपावर लिमिटेडले आउँदो मङ्सिर ७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। जसमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूध कुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोकी गाउँपालिकाको वडा नं. १ को स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् ४० लाख कित्ता तथा सोलु दूध कुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीय बासिन्दाहरूलाई ६० प्रतिशत अर्थात् ६० लाख कित्ता बाँडफाँट गरिनेछ।

साथै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्टाइएको शेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा मंसिर १० गते हुनेछ भने ढिलोमा मंसिर २१ गते हुनेछ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।