जेनजी आन्दोलनका कारण नै बैंकिङ्ग क्षेत्रमा समस्या आयो भन्न मिल्दैन : गभर्नर डा. पौडेल 


काठमाडाैं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले भदौ २३/२४ गतेकाे जेनजी आन्दोलनपछि मात्रै बैंकिङ्ग क्षेत्रमा समस्या आयो भन्न नमिल्ने बताएका छन्। उनले विगत लामो समयदेखि नै बैंकिङ्ग क्षेत्रले चुनौतीहरू सामना गरेको बताएका हुन्। 

सबैतिरबाट कडाइ गरेर बैंक वित्तीय संस्थाको स्थिति सुधार नहुने समेत उनको धारणा छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले बैंकको प्रमुख चुनौतीमा बैंक वित्तीय संस्थाले छुट्याउनु पर्ने प्रोभिजन रहेको भन्दै लोन लस प्रोभिजनमा पनि हेरफेर गर्ने तयारीमा रहेको बताए।

‘अन्तर्राष्ट्रिय अभ्यासलाई लिएर यसमा पुनः विचार गर्न सकिने अवस्थामा यसलाई रिभ्यु गर्नेछौँ।’ उनले भने। उनले रिटेलका कामहरू राष्ट्र बैंकबाट भन्दा पनि बैंक तथा वित्तीय संस्थाबाटै गर्ने व्यवस्था गर्ने तयारी गरिरहेको बताए। राष्ट्र बैंक नयाँ चुनौतीको सामना के कसरी गर्ने भन्ने बाटोमा रहेको बताए।  

उनले बैंकिङ्ग क्षेत्रमा रहेको पैसा व्यवसायमा भन्दा बाहिर जान नदिने बताए। उनले आइटीमा लगानी गर्नुपर्ने अवस्थामा राष्ट्र बैंकले नीति नै परिवर्तन गर्न पनि तयार रहेको बताए।