काठमाडौं – चोरी, लुटपाट समेतका घटनाहरूमा ३८ पटक पक्राउ परेका कृष्ण बहादुर खड्कासहित आठ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भई भक्तपुरको सुर्यविनायक बस्ने साधुराम भुजेल, मोरङको पथरी शनिश्चरे घर भएका कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका अनु गजमेर, रामेछापको दरम्बा गाउँपालिका घर भएका विशाल तामाङ, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भएका सुदिप भण्डारी, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भएका राजिब भण्डारी, काभ्रेपलान्चोकको महाभारत गाउँपालिका घर भएका सुरज तामाङ र काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भएका सुजन भण्डारी रहेका छन्।
भक्तपुर जिल्लाको विभिन्न स्थानहरूमा सङ्गठित समूह बनाई योजनाबद्ध तरिकाले पाकेटमार, लुटपाट, जबरजस्ती चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट पहेँलो धातुका गरगहना, विदेशी तथा नेपाली मुद्रासहित मोटरसाइकल र कार समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट पहेँलो धातुको ब्रासलेट १ थान, पहेँलो धातुको औँठी २ थान, पहेँलो धातुको झुम्का १ जोर, पहेँलो धातुको सिक्री १ थान, १०० दरको २८ थान अमेरिकी डलर, भारतीय रुपैयाँ ६ हजार ६ सय ९०, नेपाली रुपैयाँ ४ लाख २८हजार ८ सय ८०, मोबाइल १४ थान, क्यामेरा १ थान, सर्जिकल ब्लेड १ थान, मोटरसाइकल ४ थान र बा ४ च ३९१६ नम्बरको कार बरामद गरिएको छ।
महाशाखाको अनुसन्धानबाट समूहले पाकेटमारी, चोरी र लुटपाटका गतिविधि योजनाबद्ध रूपमा गर्दै आएको खुल्न आएको छ। समूहका सदस्यहरू एउटै स्थानमा बसेर योजना बनाउने, सार्वजनिक सवारी साधनमै सामूहिक रूपमा चढी आर्थिक रूपमा लक्षित व्यक्तिहरू पहिचान गर्ने र अवसर मिल्ने बित्तिकै सुनका गरगहना तथा रकम लुट्ने गरेको प्रहरीले जनाएको छ।
अपराधका क्रममा मोटरसाइकल र कार प्रयोग गरी सजिलै भाग्ने रणनीति अपनाइने गरेको पनि प्रहरीले बताएको छ। सार्वजनिक सवारीबाट ओर्लिँदा सबै जना एकै पटक नभई, विभिन्न स्थानमा क्रमै–क्रमले ओर्लिने गरेका थिए। यसरी लुटिएका सामानहरू समूहभित्र नै बाँडफाँड गर्ने गरेको अनुसन्धानले देखाएको छ।
यस समूहले पैदल यात्री तथा दुई पाङ्ग्रे सवारी साधनका यात्रुहरूलाई लक्ष्य बनाई सिक्री र अन्य गरगहना समेत लुट्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये कृष्णबहादुर खड्का यसअघि पनि चोरी र लुटपाटका विभिन्न घटनामा ३८ पटक पक्राउ पराइसकेको र उनीविरुद्ध मुद्दा दायर भएको प्रहरीको अभिलेखमा देखिन्छ। उनीहरूलाई चोरी तथा पाकेटमारी गरेका निम्न धनमालहरूसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई चोरी तथा पाकेटमारी गरेका धनमालसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया