काठमाडौं – ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ मा सहभागिताका लागि दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताएका छन्।
‘सिओल एआई स्मार्ट सिटी सेन्टर’ को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताएका हुन्। मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने खरेलको भनाइ छ।
सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उनले भने, ‘कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान मिलेको छ। यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ।’
सञ्चारमन्त्री खरेलले केन्द्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए। साथै, एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्र निर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गरेका छन्। ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडरसिप फोरम उपलब्धिपूर्ण भएको उनको भनाइ छ।



About Us
प्रतिक्रिया