सुन तस्करी प्रकरण अनुसन्धानका लागि सीआईबी टोली भारततिर

सुन तस्करी प्रकरण अनुसन्धानका लागि सीआईबी टोली भारततिर


बैकिङ्ग समाचार,काठमाडौं । 

६० किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सीआईबीका एक अधिकृतसहितको टोलीलाई बिहिबार भारत पठाइएको छ ।

बुधबार सोही प्रकरणको थप सूचना संकलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएसँगै प्रहरीले बिहिबार भारतमा पनि टोली पठाएको हो ।

अहिले भारत गएको टोलीले भारतको नेपाली दूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वयगरेर त्यहाँबाट सूचना संकलन गर्नेछ । 

हङकङबाट ब्रेक सु मा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ ।

सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका ६ जना विदेशी छन् । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।