बैकिङ्ग समाचार,काठमाडौं ।
सप्तरीको बोदेबर्साइन नगरपालिका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको भन्दै नगरपालिका प्रमुख आतेशकुमार सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
बोर्देबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी गरेको छ ।
मेयर यादव र वडा नं ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले बताएको छ ।
प्रतिक्रिया