डोल्पामा मोटर बाटो स्तरोन्नति ठेक्कामा ५५ लाख भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं – डाेल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा मोटरबाटो स्तरोन्नतिको ठेक्कामा अनियमितता गरेको अभियोगमा ठेकेदार कम्पनीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेलसहित ८ जना र दिव्या निर्माण सेवा प्रालि माथि सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हाे ।

त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ देखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतीका लागि ठेक्का नं TM/NCB /06/2078/079 बोलपत्र आह्वान गरी औपचारिकता मात्र निभाई मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई उक्त काम जिम्मा दिई भुक्तानीमा आर्थिक अनियमितता गरेको भन्नेसमेत ब्यहोराको प्राप्त उजुरीका अख्तियारले अनुसन्धान गर्दा ५५ लाख ८९ हजार बराबरको रकम हिनामिना गरेको अख्तियारले जनाएको हो ।

अख्तियारका अनुसार  आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकका लागि स्वीकृत लागत ८३ लाख ८२ हजार ९९८ रहेकोमा ठेक्का बोलपत्र प्रक्रियामा अनियमितता गरी ‘दिव्या निर्माण सेवा प्रालि’लाई काम दिइएको पाइएको हो। अनुसन्धानमा सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लङ्घन गरी मूल्याङ्कन समितिले बोलपत्रदाताहरुको कागजात गलत रूपमा मूल्याङ्कन गरेको, न्यूनतम कबोल रकम २४ लाख ७३ हजार  प्रस्ताव गर्ने ‘कृष्ण निर्माण सेवा’ लाई अयोग्य ठहर गरी बढी रकम ८० लाख ६२ हजार  कबोल गर्ने ‘दिव्या निर्माण सेवा’ लाई ठेक्का दिएको देखिएको छ। 

दुबै फर्मका कागजात, हस्ताक्षर, मिति र कागजात ढाँचा समान रहेकोले समितिले दोहोरो मापदण्ड अपनाई मिलेमतो गरेको प्रमाण भेटिएको आयोगको दाबी छ। यसरी गैरकानूनी लाभ दिई संस्थालाई करिब ५५ लाख ८९ हजार बराबरको हानी पुयाइएको ठहर गर्दै आयोगले सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो। मुद्दा हाल विशेष अदालतमा दर्ता भइसकेको र प्रतिवादीहरूमाथि सार्वजनिक पद र अधिकारको दुरुपयोगद्वारा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ।