बुढानीलकण्ठबाट चोरी गर्ने एक जना  सुनका गहनासहित पक्राउ


काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६, च्यासिन टोलस्थित एक घरमा भएको चोरी प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। चोरी अनुसन्धानको क्रममा प्रहरीले धादिङ घर भई हाल बुढानीलकण्ठ–६ च्यासिन टोलमा बस्दै आएका ४५ वर्षीया सुमन पाण्डेलाई पक्राउ गरेको हो। 

पाण्डेको डेरा खानतलासी गर्दा चोरी भएका विभिन्न सामानहरू फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट पहेँलो धातुको हातमा लगाउने वाला २ थान, पहेँलो धातुको नौगेडी सहितको मङ्गलसूत्र १ थान, पहेँलो धातुको मोती माला १ थान, पहेँलो धातुको गलामा लगाउने नेकलेस १ थान, पहेँलो धातुको कानमा लगाउने मुन्द्रा १ थान, घडी १ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान, ल्यापटप १ थान र सिक्का पैसा  ६२ वटा बरामद गरेको छ । 

उनलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।