विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

विनाकारण दुःख दिइएको भन्दै विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सामूहिक सरुवा


बैकिङ्ग समाचार,काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १३७ कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।

कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक विदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएको भए पनि कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्द भोग्नु परेको भन्सार कार्यालयका कर्मचारीहरुको गुनासो रहेको छ ।

भन्सार विभागका महानिर्देशकसमक्ष भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले सरुवा मागेका हुन् । पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो रहेको छ ।

‘पछिल्लो परिवेशमा सिर्जित लगभग ६० किलो सुन भन्सार चोरी ÷ छली जाँचपास भएको भन्ने घटनाक्रम पश्चात् विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट हामीहरुलाई विनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ’ पत्रमा उल्लेख गरिएको छ ।

कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरुले कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न आफूहरुमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उल्लेख गरेका छन् ।

\"\"