भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त खरेल पक्राउ


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका निराजन भन्ने निरन्जनकुमार खरेल पक्राउ परेका छन्। रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय खरेललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

आर्थिक वर्ष ०७९/०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा खरेलविरुद्ध नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे ।

सीआईबीका अनुसार, उनले नक्कली भुटानी शरणार्थी बनाई विदेशी देश पठाउने नाममा विभिन्न व्यक्तिबाट ठगी गरी असुल गरिएको नगद तथा चेकमार्फत प्राप्त रकम संकलन, ओसारपसार र गैरकानुनी कारोबारमा संलग्न गिरोहसँग मिलेमतो गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

फरार रहेका खरेललाई गोप्य सूचनाको आधारमा २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई थप कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको छ।