जेनजी आन्दोलनको चेपुवामा बैंकको ‘ब्यालेन्ससिट’, आधा दशक यताकै खराब स्थिति


काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र असोज महिनामा आएको बेमौसमी बाढीका कारण बैंकहरुको वित्तीय विवरण दबाबमा देखिएको छ । बैंकहरुले समयमा ऋणको साँवा तथा ब्याज आम्दानी गर्न नसक्दा ‘ब्यालेन्ससिट’ मा थप दबाब परेको हो ।

यता, मध्यमस्तरका ऋणीले पनि विविध कारण देखाउँदै बैंकहरुलाई गर्नुपर्ने भुक्तानी समयमा नै नगर्दा ‘ब्यालेन्ससिट’ मा दबाब बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट लगानी भएका निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड हुँदा कर्जा तिर्न सक्षम ऋणीले पनि साँवा ब्याज भुक्तानी नगर्दा बैंकको वित्तीय सूचक प्रभावित बनेको हो । जेनजी आन्दोलन र प्राकृतिक विपत्तिका कारण ऋण असुली प्रभावित भएपछि बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनमा समेत चुनौती बढेको छ ।

ऋण असुली प्रभावित बन्दा बैंकहरुको नाफा खुम्चियो

बैंकहरुले ऋण असुलीमा चुनौती सामना गर्दा पनि नाफा प्रभावित बनेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफामा उल्लेख्य घट्दा गत आर्थिक वर्ष १६ अर्ब १८ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका बैंकहरुले यस वर्षको असोजसम्ममा १३ अर्ब १४ करोड मात्रै नाफा आर्जन गरेका हुन् ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोजसम्ममा ४ अर्ब ९३ करोड मात्रै खुद ब्याज आम्दानी गरेका छन् । जबकि, बैंकहरुले गत वर्षको यो अवधिमा ४ अर्ब ६४ करोड ब्याज आम्दानी गरेका थिए । साँवा ब्याज भुक्तानी प्रभावित बन्दा बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरु बताउँछन् । असोजसम्ममा ५ वटा बैंकहरुको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ ।

कोरोनाको समयमा भन्दा बिग्रियो सूचक

बैंकहरुको वित्तीय विवरण कोरोनाको समयमा भन्दा पनि खराब भएको छ । चालु आर्थिक वर्षमा बैंकहरुले कमाएको नाफा कोरोनाले थलिएपछिका आर्थिक वर्षहरुमाभन्दा पनि तल पुगेको हो । कोरोनाले निकै प्रभावित बनेको वर्ष २०७६/७७ को पहिलो त्रैमासमा बैंकहरुले १५ अर्ब ५५ करोड नाफा कमाएका थिए ।

त्यसयता पनि बैंकहरुले २०७७/७८ को पहिलो त्रैमासमा १४ अर्ब ७६ करोड, २०७९/८० मा १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार, २०८०/८१ को पहिलो त्रैमासमा १३ अर्ब ३४ करोड र २०८१/८२ को पहिलो त्रैमास १६ अर्ब २३ करोड १९ लाख नाफा कमाएका थिए । यो तथ्यांकको आधरमा चालु आर्थिक वर्षको तीन महिनामा बैंकहरुले कमाएको नाफा ५ वर्ष यता कै कम हो ।

राष्ट्र बैंकको सहुलियतले गरेन काम

नेपाल राष्ट्र बैंकले निजी क्षेत्र तथा बैंक तथा वित्तीय क्षेत्रमाथि आन्दोलनले प्रभाव पारेको भन्दै वित्तीय विवरण प्रकाशन गर्ने समय थप गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण प्रकाशन गर्न सहजीकरण गरिदिँदा पनि वित्तीय विवरणमा सुधार आउन नसकेको हो ।

केन्द्रीय बैंकले त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्थालाई हेरफेर गरेर कात्तिक २१ गतेसम्म समयावधि थप गरेको थियो । बैंकहरुले राष्ट्र बैंकको व्यवस्था बमोजिम नै आज अर्थात् कात्तिक २१ गते वित्तीय विवरण प्रकाशन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसार नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिदिएको थियो । राष्ट्र बैंकले यतिका सहुलियत प्रदान गर्दापनि बैंकको ब्यालेन्ससिटमा सुधार आउन नसकेको हो ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा विगतमा नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरण र पुनसंरचनाको व्यवस्थाका कारण बैंक तथा वित्तीय संस्थाको ब्यालेन्ससिट सकारात्मक नहुने बताउँछन् । उनले विगतमा केही बैंकहरुले ऋण लगानी गर्ने समयमा बढी जोखिम लिएका कारण यस्तो स्थिति आएको बताए ।

१६ अर्ब बढ्यो प्रोभिजन

यता बैंकहरुको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको खुद ब्याज आम्दानीमा सुधार आएपनि प्रोभिजन बढ्दा पनि नाफा प्रभावित बन्न पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूले समयमा असुली नहुँदा कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । कर्जा नोक्सानी व्यवस्था छुट्याउँदा त्यसको असर बैंकको पुँजीकोषमा पनि पर्छ । खराब कर्जा बढ्दा बैंकहरूको आम्दानी र नगद प्रवाह दुवैमा दबाब बढ्छ ।

बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणअनुसार असोजसम्ममा बैंकहरुले ५३ अर्ब ३९ करोड २४ लाख बढी प्रोभिजनका लागी छुट्याएका छन् । गत वर्ष भने बैंकहरुले प्रोभिजनका लागी ३७ अर्ब ८८ करोड २९ लाख छुट्याएका थिए । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पहिलो त्रैमास सकिने समयमा चाडबाड परेका कारण विजनेश बढ्न नसक्दा बैंकहरुको वित्तीय सूचकमा केही दबाब देखिएको बताउँछन् । उनले राजनीतिक अस्थिरताका साथै आन्दोलनको प्रत्यक्ष प्रभाव व्यवसायमा परेका कारण ऋण असुली हुन नसक्दा प्रोभिजन बढेको बताए।

‘राजनीतिक अस्थिरताका कारण व्यापार व्यवसायहरू दबाबमा छन् त्यसको असर नै बैंकको वित्तीय सूचकमा देखिएको हो’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘अझै व्यापार व्यवसायले लय समात्न समय लाग्ने नै छ । आशा गरौँ अर्को त्रैमासमा वित्तीय विवरणमा पक्कै सुधार आउँछ ।’

सिटिजन्स बैंक घाटामा

चालु आर्थिक वर्षको तीन महिनामा १५ वटा बैंकको नाफा घट्दा सिटिजन्स बैंकले घाटा नै बेहोरेको छ । बैंकले २२ करोड बढी घाटा बेहोरेको हो । बैंकले ठुलो रकमको ऋणमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दा घाटा नै ब्यहोर्नु परेको हो । बैंकको खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानीमा, गैर सञ्चालन आम्दानीमा केही सुधार भने आएको छ ।

तर, कर्मचारी खर्चमा केही वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारणले गत वर्षको सोही त्रैमासको तुलनामा खुद नाफामा कमी भई यस त्रैमासमा बैंकले नोक्सानी बेहोर्नु परेको बैंकले बताएको छ । बैंकले नै सञ्चालन जोखिम व्यवस्थापन जस्ता आन्तरिक समस्या तथा चुनौती रहेको विद्यमान परिप्रेक्ष्यमा दीर्घकालीन रूपमा बैंकका समग्र सूचकहरूलाई सुधार गर्दै जाने कार्य चुनौतीपूर्ण रहेको बताएको छ ।