क्रिप्टोकरेन्सीको जोखिम: चुनौतीका बाबजुद विश्वभर फैलिँदैछ बीमा व्यवसाय


काठमाडौं – संसारभर क्रिप्टोकरेन्सीले प्रचलित मुद्रासरहको वैधता पाउन नसकिरहेको सन्दर्भमा यसमा हुने नोक्सानीको बीमा सायदै कल्पना गर्न सकिएला। तर, केही विदेशी कम्पनीहरूले बीमा जस्तै जोखिम न्यूनीकरण गर्ने उपायको सुरुवात भने गरिसकेका छन्। क्रिप्टोकरेन्सी र माइनिङ जस्ता क्षेत्रको जोखिम न्यूनीकरण गर्न एभर्टस नामको कम्पनीले आफूलाई संसारकै पहिलो क्रिप्टो इन्स्योरेन्स कम्पनीकोरुपमा दाबी गरिसकेको छ। 

यो कम्पनीले खासगरी क्रिप्टोकरेन्सीको माइनिङका लागि प्रयोग हुने हार्डवेयरमा हुनसक्ने ३६ करोड अमेरिकी डलरसम्मको क्षतिको कभर हुने गरी बीमाको पोलिसी बनाएको छ। त्यस्तै, क्रिप्टो कारोबार हुने प्लेटफर्ममा प्राविधिक समस्या आएर हुने क्षतिको एक करोड डलरसम्मको रिस्क कभर हुने दाबी कम्पनीको छ। त्यस्तै डिजिटल चोरी जस्ता आपराधिक तवरले हुने नोक्सानीको तेस्रो पक्ष बीमाको सुविधा पनि भएको कम्पनीको दाबी छ।

द रोयल गजेट नामक बमुैडाको राष्ट्रिय अखबारले यो कम्पनीले बर्मुडाको मुद्रा प्रचलनमा ल्याउने निकाय बर्मुडा मनेटरी अथोरिटीले मान्यता दिएको जनाएको छ। बढ्दो क्रिप्टो बजारले बीमा कम्पनीहरूलाई लगानीका अवसर बन्ने देखिन्छ। बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, र माल्टा र जिब्राल्टर जस्ता विभिन्न युरोपेली देशहरू, र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूले क्रिप्टोकरेन्सीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका छन्। केही देशहरूले एक्सचेन्जहरू र डिजिटल वालेटहरू नियमन गर्नमा ध्यान केन्द्रित गरेका छन्।

क्रिप्टो बीमाको उदय र प्रमुख बीमा कम्पनीहरू 

लगानीको प्रमुख माध्यमको रूपमा उदाइरहेको क्रिप्टो करेन्सी उद्योगमा जोखिम न्यूनीकरण गर्न पहिलो समर्पित क्रिप्टो  बीमा कम्पनी ‘एभर्टस’ सन् २०१७ मा ‘जे ग्डान्स्की र रेमन्ड जेनकिच’द्वारा स्थापना भएको थियो। अमेरिकाको उक्त कम्पनी एभरर्टसलाई क्रिप्टोकरेन्सीका जोखिमहरू कम गर्न स्थापना गरिएको थियो। एभर्टस क्रिप्टोे बीमामा पूर्ण रूपमा केन्द्रित हुने पहिलो कम्पनी भएको दाबी छ। तर अन्य संस्थाहरूले त्यसअघि नै क्रिप्टो सम्बन्धित बीमा उत्पादनहरू प्रस्ताव गरिरहेका थिए।

उदाहरणका लागि, ग्रेट अमेरिकन इन्स्योरेन्स ग्रुप सन् २०१४ को मध्यदेखि नै बिटक्वाइन धनीहरूका लागि जालसाजी र कम्प्युटर धोखाधडी कभर गर्ने पोलिसी ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। त्यस्तै, बाइनन्सले सन् २०१८ मा प्रयोगकर्ता कोषहरूको सुरक्षाका लागि सेक्योर्ड एसेट फन्ड फर युजर्सले स्थापना गरेको थियो, जुन एक प्रकारको बीमा कोष हो।

त्यस्तै क्रिप्टोकरेन्सी बीमाको लागि ‘मार्स’ अर्को विश्वव्यापी बीमा ब्रोकरेज र परामर्श फर्म हो। यसले व्यक्ति र व्यवसायीले राखेका क्रिप्टोकरेन्सी सम्पत्तिहरूको लागि कभरेज दिँदै आइरहेको छ।  लन्डनको लोयड्स एक अग्रणी बीमा हो, जसले व्यक्ति र व्यवसायीले राखेका क्रिप्टोेकरेन्सी तथा क्रिप्टो एसेटको लागि कभरेज प्रदान गर्छ। यस्ता कम्पनीको बीमा पोलिसीहरूले चोरी, नोक्सान र क्षतिलाई कभर गर्दछ र ब्लकचेन आधारित व्यवसाय र परियोजनाको बीमा पनि गर्छ। सन् २०१९ देखि २०२५ सम्म विश्वभरका ५६ विभिन्न देशहरूमा वार्षिक क्रिप्टोकरेन्सी भैरहेको छ। 

नेपालको बीमा क्षेत्रमा क्रिप्टोेकरेन्सीको अवसर र चुनौतीहरू 

विश्वभर प्रचलित एवम् सार्वभौम मुलुकले जारी गरेको मुद्रा जस्तै: अमेरिकी डलर, जापानी येन, बेलायती पाउण्ड आदि का सम्बन्धमा समेत नेपालमा नियमन र नियन्त्रण गरिएको छ। नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था छ। क्रिप्टोकरेन्सीसम्बन्धी नियन्त्रण र प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्थाअन्तर्गत छ।

साथै, नेपालभित्र कारोबारका लागि नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउनुपर्ने विद्यमान कानुनी व्यवस्था समेतले गर्दा निजी क्षेत्रबाट मुद्राको रूपमा कार्य गर्न सक्ने गरी कुनै वस्तु दृश्य वा अदृश्य जारी हुने परिकल्पना गरिएको छैन। प्रचलित नेपाल कानुनले उक्त कार्यलाई दण्डनीय मानेको छ। 

त्यस्तै, क्रिप्टोको कारोबार गर्ने देशहरूले सुरक्षाको लागि बीमाको समेत व्यवस्था गरेका छन्। नेपालमा क्रिप्टो सुरुवात गर्नुपर्छ भन्ने जमातहरू हुँदै गर्दा नेपालमा क्रिप्टो  आएको खण्डमा बीमा क्षेत्रमा कस्तो असर पर्छ। नेपालको बीमा क्षेत्रमा अवसर वा चुनौतीको रूपमा लिन्छन भन्ने कुरामा राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले नेपालमा क्रिप्टोको व्यवस्था असम्भव रहेको बताउँछन्। उनी भन्छन्, ‘नेपाल जस्तो सानो आर्थिक परिवेश भएको देशमा क्रिप्टोकरेन्सीको व्यवस्था असम्भव हो। यदि यसलाई नियमन गर्न सकिएन भने झनै विकृति भित्रिन्छ। त्यसैले बीमा क्षेत्रको लागि अवसर कि चुनौती छुट्याउन गाह्रो छ,’ उनले भने।

बीमा विज्ञ रविन्द्र घिमिरेले पनि यो विषय जटिल भएको बताए। नेपालका क्रिप्टोको कुरा मौद्रिक नीतिको समयमा जोरसोरले उठिरहँदा नेपालले नियमन गर्न सक्ने नसक्ने कुरामा ध्यान दिन आवश्यक रहेको औँल्याए। बीमा क्षेत्रका लागि पनि जटिल पोलिसी रहेको उनले बताए।

क्रिप्टोकरेन्सीको बीमा किन आवश्यक ? 

क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि पहिलो शर्त बीमा हो। किनभने यसमा लगानी गर्ने लगानीकर्ताहरूले आफ्नो कारणले नभई बाह्य कारणले हुने क्षतिपूर्तिको सुनिश्चितता आवश्यक हुन्छ। नेपालमा क्रिप्टोकरेन्सी नै वैधानिक नभएको अवस्थामा यसको बीमा हुने सम्भावना न्यून छ। तर, यसलाई वैधानिकता दिने सवालमा बीमाको प्रत्याभूति अनिवार्य शर्त भने हो।

के हो क्रिप्टोकरेन्सी ? 

क्रिप्टोकरेन्सी एक भर्चुअल वा डिजिटल मुद्रा हो। बिना कुनै तेस्रो पक्षको परम्परागत मुद्राहरू भन्दा फरक, क्रिप्टोकरेन्सीहरू प्रायः नियमनमुक्त हुन्छन्। सामान्यतया यस्तो मुद्रालाई संसारका कुनै पनि केन्द्रीय बैंक र प्रमुख बैंकहरूले मान्यता दिएका छैनन्। यसको सट्टा, क्रिप्टोकरेन्सीहरू सीमित संख्यामा नियमनमुक्त डिजिटल मुद्रा एक्सचेन्जहरू, जस्तै क्वाइनबेस वा बाइनान्स मार्फत खरिद र विनिमय गरिन्छ।