प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनमाथिको अनुसन्धान लम्ब्याउँदै सीआईबी, प्रभु मनिट्रान्सफरको फाइल झिकाउँदै


काठमाडौं – प्रभु बैंकका पूर्व अध्यक्ष  देवी प्रकाश भट्टचनविरुद्धको अनुसन्धान लम्बिने भएको छ। आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा पक्राउ परेका भट्टचनविरुद्धको अनुसन्धान लम्बिने भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ। 

कात्तिक ११ गते मंगलबार पक्राउ परेका भट्टचनले १० दिन जेलमा बिताइसकेका छन् । उनीविरुद्ध सुरुमा ५ दिन म्याद थप गरिएको थियो । त्यसपछि उनीविरुद्ध  म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार भट्टचनको अनुसन्धान सक्ने अझै २० देखि २५ लाग्नेछ ।

स्रोतले भन्यो, ‘समान्य घटनाको अनुसन्धान सक्नका लागि प्रहरीले २० देखि २५ दिन सम्मको म्याद थप गरी अनुसन्धान गरी सक्नुपर्ने हुन्छ । तर, केस अनुसार अनुसन्धान सक्न समय लाग्ने भएकाले गर्दा बढी समय लाग्न सक्नेछ ।’

भट्टचनको अनुसन्धानका लागि प्रभु ग्रुपसँग प्रभु मनि ट्रान्सफरसँग सम्बन्धित दर्जनौँ फाइल मगाइएको छ । जसकारण अनुसन्धानका लागि बढी समय लाग्नसक्ने सीआइबी स्रोतले बताएको छ । भट्टचनको स्वास्थ्य अवस्था अस्वस्थ रहेको समेत स्रोतले जनाएको छ ।