हराएको मोबाइल फेला पारी मोबाइल बैंकिङ्गबाट १० लाख ट्रान्सफर गर्ने व्यक्ति प्रहरीको फन्दामा


काठमाडौं – पीडितको हराएको मोबाइल फेला परी सो मोबाइलमा भएको मोबाइल बैंकिङ्ग सेवाहरूको दुरुपयोग गरी आफ्नो इसेवा खाताहरूमा रकम पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका– ५ बस्ने पडरिया घर भई हाल काठमाडौंको बौंद्ध टुसाल बस्ने ३२ वर्षीय मुकेश कुमार मण्डल रहेका छन् । 

उनले पीडितको मोबाइल बैंकिङ्गबाट १० लाख रुपैयाँ आफ्नो इसेवाको खाताहरूमा ट्रान्सफर गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले बौंद्ध टुसालबाट पक्राउ गरेकाे हाे ।

मण्डललाई ठगी सम्बन्धी कसुर मुद्दामा थप गरी अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले  जनाएको छ ।