मर्जरको असरः प्रभु, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा दर अत्याधिक 

मर्जरको असरः प्रभु, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा दर अत्याधिक 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौँ । 

ऋणीले साँवा, ब्याज समयमै नतिर्दा बैंकहरुको कमसल तथा खराब कर्जा बढेको छ । यस्तो कमसल तथा खराब कर्जालाई निष्क्रिय कर्जा (एनपीएल) भन्ने गरिन्छ । एक वर्षमै कतिपय बैंकको निष्क्रिय कर्जा बढेर दोब्बरसम्म पुगेको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको (एनपीएल) अहिले बढेर २.६९ प्रतिशत पुगेको हो । रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ त्यसमा पनि मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिक मात्रामा बढेको देखिएको छ । 

सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको हो । यो ३२९ प्रतिशतको वृद्धि हो । कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो । यसको प्रोभिजन वापतको रकम पनि धेरै बढेको छ । जसले गर्दा यस बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ । त्यस्तै, दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १.५९ प्रतिशत थियो । हिमालयन बैंकले हालसालै सिभिल बैंकलाई प्राप्ती गरी एकिकृत कारोबार सुरु गरेको हो । 

यता मेगा बैंकसँग मर्ज गरी एकिकृत कारोबार गरेको  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ ।त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशत बाट बढेर ४.१६ प्रतिशत पुगेको छ । मर्जर भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको छ । राष्ट्र बैंकले बैंकहरुको अपारदर्शी र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न र पुँजीका हिसाबले बलियो बनाउन मर्जरको नीति लिएको थियो । तर हालको अवस्थालाई नजिकबाट नियालेर हेर्दा मर्ज भएका बैंकहरुको अवस्था झनै नाजूक देखिएको छ । आम्दानी गरेको रकम सबै प्रोभिजन गर्दा यिनीहरुको वितरण योग्यनाफा पनि धेरै कम छ । ५ वटा बैंकले यस वर्ष लाभांश वितरण गर्ने सक्ने अवस्था पनि छैन । 

यसरी बैंकहरुको एनपीएल बढ्नुमा नयाँ कर्जा परिचालन नगर्नु पनि एक मुख्य कारण रहेको बैंकरहरु बताउँछन ।  नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले  पछिल्लो समय अर्थतन्त्रमा कोभिड, त्यसपछि कर्जा नबढेको अवस्था, उद्यमीहरुले नयाँ ब्यापार सिर्जना हुन अवस्था हेर्दा  बढ्दो खराब कर्जा अनुपातलाई स्वभाविक रुपले हेर्नुपर्ने बताए । उनले मर्जरमा गएका बैंकहरुको यो दर धेरै देखिएपनि यो बिग मर्जरको असर नभएको बताए । भएकै कारणले एनपीएल बढेको भन्न नमिल्ने बताए । उनले भने, ‘समग्रमा सबै बैंकको एनपीएल बढेको छ । त्यहाँ मर्जर अगाडि र मर्जर पछाडिको स्थिति हेर्ने हो भने मर्ज हुने दुईवटै बैंकको प्रोभिजन माथि नै थियो । यसकारण मर्जरका कारणले एनपीएल बढेको भन्न मिल्दैन।’ 

त्यस्तै, लोनको साइज २०० अर्ब थियो र पछि फेरि ३० अर्ब थपियो भने जम्मा लोन २३० अर्ब हुन्छ । अब खराब कर्जा ५ अर्ब छ भने उसको प्रोभिजन घट्छ । साथै, एनपीएल पनि घट्छ’, उनले भने ।  उनले प्रोभिजनलाई त्यही आधारमा मात्र हेर्न नमिल्ने पनि बताए । पछिल्लो समय बैंकहरुले कर्जामा लगानी बढाउन सकिरहेका छैनन । 

एनपीएल बढ्दा के हुन्छ ? 

खराब कर्जा धेरै हुन गएमा बैंकहरुको वित्तीय अवस्था नै कमजोर हुने अवस्था उत्पन्न हुन्छ । केन्द्रीय बैंकको निर्देशन अनुसार खराब वर्गमा वर्गीकरण भएका कर्जाहरुको शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्दछ अर्थात प्रोभिजनिङ गर्नुपर्दछ । प्रोभिजनिङका कारण बैंक तथा वित्तीय संस्थाहरुको नाफामा गिरावट आउँछ । कतिपय अवस्थामा बैंकहरुले घाटा व्यहोनुपर्ने सम्भावना पनि रहन्छ । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । 

कर्जा लगानीमा व्यवस्थापन पक्ष कमजोर भएको पनि संकेत गर्दछ । अर्कोतर्फ, खराब कर्जा ५ प्रतिशत वा बढि पुगेमा बैंक तथा वित्तीय संस्थाहरुले नाफा गरेकै भएपनि लगानीकर्तालाई प्रतिफल वितरण गर्न पाउँदैनन् । त्यसकारण बैंकहरुको खराब कर्जा जति न्यून भयो त्यती धेरै राम्रो मानिन्छ । साथै, लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्नुअघि खराब कर्जा अनुपातलाई विशेष ध्यान दिनुपर्दछ ।