मोरङमा नक्कली अदालत पेज बनाएर ठगी गर्ने आमा–छोरी पक्राउ


काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला अदालत, मोरङको नक्कली सामाजिक सञ्जाल पेज बनाई विभिन्न पदमा भर्ना खुलेको भनी सर्वसाधारणबाट रकम ठगी गर्ने दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिराहा जिल्लाको लहान स्थायी घर भई हाल विराटनगर महानगरपालिका–५ मा डेरा गरी बस्ने ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमल कुमारी साहलाई पक्राउ गरिएको हो।

उनीहरूले नक्कली फेसबुक पेजमार्फत जिल्ला अदालतमा विभिन्न पदमा भर्ना खुलेको भनी दर्ता शुल्कका नाममा ई–सेवा मार्फत रकम माग्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। साथै, किनमेल गर्ने बहानामा सामान लिएपछि आधा रकम मात्रै तिरेर बाँकी रकमका लागि पुनम देवी साहको नाममा सटही नहुने चेक दिने गरेको पाइएको छ।

प्रहरीका अनुसार ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास कार्य जारी छ। यस प्रकरणमा संलग्न थप व्यक्ति र समूहबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले पुनम देवी साहको मोबाइल नम्बर ९८२३८९८२९३ बाट ई–सेवा मार्फत रकम पठाई ठगीमा परेका अन्य पीडितलाई पनि जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको छ।