संखुवासभामा आपराधिक लाभ गर्ने मुद्दामा ६ जना पक्राउ, ३८ हजार बरामद 


काठमाडौं – आपराधिक लाभ सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा संखुवासभा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ परेकामध्ये सबै जना संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–७ का हुन्।

पक्राउ पर्नेमा  केबि पुन मगर, चैनपुर नगरपालिका–७ घर भएका लब आले मगर,  युवराज पिठाकोटे मगर, राजु भन्ने यमसिख यसमाली मगर, प्रदिप समाल मगर र ऐम बिरेन यसमाली मगर रहेका छन् । प्रहरीका अनुसार कात्तिक १२ गते राति करिब १० बजे सुनसरी गढी गाउँपालिका–५ घर भई हाल चैनपुरमा डेरा गरी बस्दै आएका अक्षय चौधरीमाथि समूहका व्यक्तिहरूले आक्रमण गरेका थिए। 

ती व्यक्तिहरूले चौधरी सवार मोटरसाइकल रोकी चाबी खोस्दै अपशब्द प्रयोग गरी कुटपिट गरेका थिए। त्यसपछि उनलाई जबरजस्ती पदम बहादुर यसमाली मगरको घरमा लैजाई मारिदिने धम्की दिई भिडियो खिच्दै २० लाख रुपैयाँ नबुझाए भिडियो मिडियामा हालिदिने चेतावनी दिएका थिए। धम्कीकाबीच चौधरीबाट तत्काल ८१ हजार १ सय ४५ रुपैयाँ जबरजस्ती उठाएको र बाँकी रकम भोलिपल्ट ल्याउने सर्तमा उनलाई सोही रात करिब ३ बजे घर पठाइएको प्रहरीले जनाएको छ।

पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई पक्राउ गरी उनीहरूकै साथबाट ३८ हजार ४ सय ७० रुपैयाँ बरामद गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।