चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ


काठमाडौं –  चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुरको  कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका– ३ घर भएका २७ वर्षीय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका– १ घर भएका ३० वर्षीय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका– ४ घर भएका ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुर बेलटार घर भएका ४० वर्षीय राजु राई रहेका छन् । 

मध्यपुर ठिमी नगरपालिका – ९ निकोसेरा ढुङ्गेधारा बस्ने ७६ वर्षीय पुरुषको घरको झ्यालबाट अपरिचित व्यक्तिहरू प्रवेश गरी पीडितलाई दाउराको चीर पटले प्रहार गरी घाइते बनाएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।