बैंकहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बढायो सुविधा, ६ महिनासम्म केन्द्रीय बैंकमा निक्षेप राख्न मिल्ने


काठमाडौं – बैंकिङ्ग प्रणालीमा थुप्रिदै गइरहेको अधिक तरलतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रिय बैंकमा ६ महिनासम्मका लागि निक्षेपमा राख्न पाउने भएका छन् । केन्द्रिय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाबाट १ सय ७५ दिनका लागि निक्षेप संकलनका लागि प्रस्ताव आह्वान गरेको हो ।

कात्तिक ९ गते ९० अर्बको ४२ दिने निक्षेप संकलनका लागि आह्वान गरेको केन्द्रीय बैंकले आज ४० अर्बको १७५ दिने निक्षेप संकलन बोलकबोल गर्ने भएको हो । विगतका दिनमा राष्ट्र बैंकले ६४ दिनसम्मका लागी निक्षेप संकलन गर्दै आइरहेको थियो । प्रायजसो केन्द्रीय बैंकले ४ दिने, ७ दिने, १० दिने, ११ दिने, १२ दिने, २१ दिने निक्षेप संकलन गर्दै आइरहेको थियो ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक दयाराम शर्माकाअनुसार राष्ट्र बैंकको खुला बजार व्यवस्थापन समितिले गरेको प्रक्षेपण र अध्ययनका आधारमा निक्षेप संकलन गर्ने समयावधि बढाइएको हो । ६ महिनाका लागी बजारमा प्रर्याप्त तरलता हुने प्रक्षेपणका आधारमा निक्षेप संकलन गर्नुले बैंकिङ्ग क्षेत्रमा अझै केही समय पर्याप्त तरलता रहने अनुमान लगाउन सकिन्छ ।

‘अबको केही समय बैंकिङ्ग क्षेत्रमा रहेको तरलता कायमै रहन्छ भन्ने छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘अहिलेको लागी ४० अर्ब मात्रै छ महिना राख्न मिल्ने व्यवस्था गरिएको छ । फेरी पनि केही रकम लामो समयसम्म बैंकिङ्ग प्रणालीमा नै बस्ने देखियो भने यसैगरी लामो समयका लागी निक्षेप लिन सकिन्छ ।’

यता, राष्ट्र बैंकले लामो समयको लागी निक्षेप संकलन गर्दा ब्याजदर कोरिडोरलाई सीमा भन्दा माथि राख्न पनि सहज हुने विज्ञहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम नरोकिँदा बैंकहरूलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार नआउँदा यता बैंक वित्तीय संस्थामा निक्षेप संकलन हुने क्रम जारी रहँदा पनि बैंकहरूलाई तरलता व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

अर्थतन्त्रमा शिथिलता र उद्योगीव्यवसायीको मनोबलमा गिरावट आउँदा अपेक्षित रूपमा कर्जा विस्तार हुन सकेको छैन । राजनीतिक अस्थिरताका कारण, विभिन्न प्राकृतिक विपत्ति र आन्दोलनका कारण व्यवसायीको मनोबल घट्दा व्यवसायी व्यवसाय विस्तारमा जुट्न नसक्दा कर्जाको मागमा सुधार आउन नसकेको हो ।

रेमिट्यान्स आप्रवाह बढिरहँदा बैंकिङ्ग प्रणालीमा निक्षेप भने थुप्रिँदै गइरहेको छ । यसकारण बैंकहरू अधिक तरलता बोकेर बस्न बाध्य छन् । त्यसबाहेक कर्जा असुली प्रभावित हुँदा पनि बैंकहरू नयाँ कर्जा विस्तार गर्न सक्ने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थामा यतिबेला ७५ खर्ब बढी निक्षेप संकलन भएर बसको छ । यता, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५६ खर्ब ३९ अर्ब छ । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम नरोकिँदा यता व्यवस्थापनमा राष्ट्र बैंकलाई समस्या सिर्जना भइरहेको छ ।

यतिबेला राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने ७ खर्ब बढी लगानीयोग्य रकम बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको छ । बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम जारी रहेकाले विगत एक वर्ष भन्दा बढी लामो समयदेखि केन्द्रीय बैंकले लगातार रूपमा तरलता प्रशोचन गर्दै आइरहेको छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आउन नदिन पनि तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । ०७२ को विनाशकारी भूकम्पको समयमा तरलता अभाव खेपेका बैंकहरू हाल भने तरलता बढेर समस्यामा छन् ।