काठमाडौं – उपत्यकाका विभिन्न स्थानहरूमा सुनको सिक्री चोरी र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका-६, घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका-५, तिनधारे बसोबास – सिक्री तान्दा मोटरसाइकल चलाउने राज लामा, उदयपुरको ताप्ले गाउँपालिका- ४, हाल भक्तपुर बसोबास – मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने विशाल भन्ने दुर्ग बहादुर मगर, रामेछापको लिखु तामाकोसी गाउँपालिका–६, घर भई हाल भक्तपुर, सल्लाघारीमा श्री लक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने -लुटिएको सुन बिक्री गर्ने दिल बहादुर बिक, बागलुङको गल्कोट नगरपालिका–२, घर भई हाल बूढानीलकण्ठ नगरपालिका-६, सरस्वतीनगरस्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक-लुटिएको सुन किन्ने गोबिन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका–७, घर भई हाल काठमाडौं, कुलेश्वर बसोबास- मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक सन्तोष सुनारका छोरा, लुटिएको सुन किन्ने दिपेस रसाइली रहेका छन् ।
स्वयम्भू प्रहरी वृत्तबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले ललितपुर नख्खुडोलबाट १ तोला ५ लालको सिक्री, काठमाडौं, नागार्जुन नगरपालिका–३, सिङ्गल ट्री नजिकबाट १ तोला १५ लालको सिक्री,ललितपुर, बुद्धचोकबाट ३ तोलाको सिक्री,नागार्जुन नगरपालिका–१, राधाकृष्ण मन्दिर नजिकबाट १ तोलाको सिक्री,रामकोट टेम्पो पार्क नजिकबाट १ तोला २५ लालको सिक्री, नागार्जुन नगरपालिका–५, थापाचोक नजिकबाट झोला र क्बmकगलन मोबाइल लुटपाट र तार्केश्वर नगरपालिका, नेपालटारबाट २ तोलाको सिक्री लुटपाट गरेका थिए ।
प्रहरीका अनुसार, उनीहरू २०८२ साल असोज ८ गतेदेखि कात्तिक १ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भएका कम्तीमा सातवटा घटनामा संलग्न रहेका छन् । प्रहरीले उनीहरुको साथबाट सामसुम, रेडमी, आईफोन, आईटेल, इन्फिनिक्स कम्पनीका मोबाइल –१३ थान, नेपाल टेलिकम र एनसेलका सिम कार्ड ६७ थान,दुईवटा मोटरसाइकल, मोटरसाइकल चोरी गर्न प्रयोग गरिने ‘टि’ औजार थान–२, श्री लक्ष्मी ज्वेलर्स (दिल बहादुर बिक)बाट नगद तीन लाख ८८ हजार नगद, बागलुङ कालिका ज्वेलर्स (गोबिन्द सुनार)बाट ७ तोला ४८ लाल सुन र १ लाख ६६ हजार नगद र दिपेस रसाइलीको कोठाबाट ६४ लाल तौलको सुनका ढिक्का ४ थान बरामद गरिएको हो ।
यसका साथै, प्रहरीले अदालतका कागजात, बिल बुक, सवारी चालक अनुमतिपत्र, र लुटपाटमा प्रयोग गरिएका लत्ताकपडासमेत बरामद गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया