काठमाडौं – एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँ बराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गर्न लागेको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया