काठमाडौं – कोभिड–१९ महामारीले थिलथिलो बनेको पर्यटन क्षेत्र बौरिन नपाउँदै पुनः थलिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण तोडफोड भएका चन्द्रागिरि हिल्स् र हायात होटल अनिश्चतकालका लागि बन्द छन् । चन्द्रागिरी हिल्स र हायात होटलमा सर्वसाधारणको पनि लगानी छ । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चन्द्रागिरी हिल्समा सर्वसाधारणको १२ प्रतिशत शेयर छ भने तारागाउँ रिजेन्सीमा ६९.१५ प्रतिशत लगानी छ ।
त्यसैबिच, हायात होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ यानीले कार्त्तिक २ गते एक सूचना निकालेर मर्मत तथा पुनर्निर्माणको जोखिम र सुरक्षाजन्य संवेदनशीलतालाई मध्यनजर गर्दै होटलबाट दिँदै आएको व्यावसायी सेवा लगायत सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिएको उल्लेख गरेका छन् । साथै, होटलका क्रियाशील ट्रेड युनियनसँग छलफल भई श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म होटल परिसरमा नआउन समेत सूचनामा उल्लेख छ ।
यसैबिच जेनजी आन्दोलनका क्रममा होटलमा ठुलो क्षति भएको भन्दै सो कम्पनी पुनः निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले बताएका छन् ।
यससँगै, यसै कम्पनीले दोस्रो सूचना जारी गर्दै कात्तिक २ गते प्रतिष्ठान र प्रतिष्ठानका क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरूबीच श्रमिकहरूले उठाएका विषयवस्तु उपर वार्ता भएकोमा यसै विषयमा केन्द्रित रही दुवै पक्षबीचको यस बैठकलाई तिहारपश्चात् निरन्तरता दिने जानकारी दिएको थियो ।
‘आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठुलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रूपमा बन्द छ, श्रेष्ठले बताए । ‘हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले जनाएका छन्। कम्पनीको स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने समेत कम्पनीले जनाएको छ ।
चन्द्रागिरी हिल्स र हायात होटलमा सर्वसाधारणको पनि लगानी छ । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चन्द्रागिरी हिल्समा सर्वसाधारणको १२ प्रतिशत शेयर छ भने तारागाउँ रिजेन्सीमा ६९.१५ प्रतिशत लगानी छ ।
यता चन्द्रागिरी हिल्स् कम्पनीका अनुसार चन्द्रागिरी हिल्स सम्भवतः कात्तिक अन्तिमसम्ममा सञ्चालनमा आउने बताएको छ । कम्पनीका एक अधिकारीले भने, ‘यो अनिश्चितकालका लागि बन्द भएको होइन, अहिले मर्मत सम्भार चल्दैछ र अबको केही दिनमा आवश्यक सामाग्री विदेशबाट आइपुग्छ । त्यसपछि इन्सटल गर्दा अहिलेकै गतिमा काम भएमा यो महिनाको अन्तिमसम्ममा सञ्चालनमा ल्याइन्छ ।’ गएको वर्षमात्रै सञ्चालनमा आएको हिल्टन होटल आगजनीले तहसनहस नै भयो ।
होटलको वित्तीय अवस्था
गएको साउनमा प्रति कित्ता एक हजार ३२ रुपैयाँभन्दा बढी मूल्य पुगेको तारागाउँ रिजेन्सीको शेयर मूल्य होटलमा तोडफोड र आगजनीपछि घटेर सात सय ३९ रुपैयाँसम्म कायम भएको छ । होटल बन्दको सूचनापछि आइतबार यसको मूल्य ७.१६ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष ०८१/८२ मा यसले ५१ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको गएको साउनमा एक हजार ९० रुपैयाँभन्दा माथि पुगेको सेयर मूल्य घटेर ८ सय ३० रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष ०८१/८२ मा यसले २१ करोड ८ लाखभन्दा बढीको खुद नाफा आर्जन गरेको छ ।





About Us
प्रतिक्रिया