तीन महिनामा आयात २० प्रतिशतले बढ्यो, वैदेशिक व्यापारमा भटमासको तेलकै वर्चस्व 


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले अघिल्लो वर्षको तुलनामा आयातमा उल्लेख्य वृद्धि गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा कुल आयात रकम चार खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तीन खर्ब ९० अर्ब रुपैयाँभन्दा करिब २० प्रतिशतले बढी हो ।

आयात बढ्दै गए पनि निर्यातको वृद्धि तुलनात्मक रूपमा सुस्त रहँदा व्यापार घाटा अझै उच्च स्तरमा छ । विज्ञहरूका अनुसार आयातमा इन्धन, तेलजन्य र औद्योगिक वस्तुको हिस्सा बढ्नुले उत्पादनमुखी अर्थतन्त्रमा दबाब बढाइरहेको छ ।

गत वर्ष साउनमा एक खर्ब २८ अर्ब, भदौमा एक खर्ब ३४ अर्ब र असोजमा एक खर्ब २८ अर्ब मूल्यका सामान आयात भएका थिए। यस वर्ष साउनमा एक खर्ब ४३ अर्ब, भदौमा एक खर्ब ६२ अर्ब र असोजमा पनि एक खर्ब ६२ अर्बको आयात भएको छ ।

निर्यातमा भने ८९.६४ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३८ अर्ब ३७ करोडको निर्यात भएकोमा यसपालि ७२ अर्ब ७८ करोडको निर्यात भएको छ । निर्यात उल्लेख्य मात्रामा बढे पनि व्यापार घाटा भने १२.१८ प्रतिशतले बढेको छ । गत आवको असोजसम्म तीन खर्ब ५२ अर्बको व्यापार घाटा थियो भने यसपालि सोही अवधिमा तीन खर्ब ९५ अर्ब रुपैयाँ कायम भएको छ । यद्यपि कुल वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको हिस्सा भने बढेको देखिन्छ । 

तीन महिनाको अवधिमा कच्चा भटमासको तेल सबैभन्दा बढी आयात भएको वस्तु रह्यो । यस वस्तुको आयात मूल्य तीन अर्ब २ करोड रुपैयाँ रहेको छ, जसले कुल आयातको ६.४६ प्रतिशत ओगटेको छ । त्यसपछि डिजेल २ अर्ब ६ करोड (४.४२%), रासायनिक मल एक अर्ब ७१ करोड (३.६६%), पेट्रोल एक अर्ब ६७ करोड (३.५८%) र खाना पकाउने एलपी ग्यास एक अर्ब ३९ करोड (२.९९%) क्रमशः प्रमुख आयात वस्तुका रूपमा रहेका छन्।

स्मार्टफोन, फलामजन्य उत्पादन र सुन पनि आयात सूचीकृत प्रमुख वस्तुहरूमा पर्दछन्। निर्याततर्फ पनि सोयाबिन तेलले सर्वाधिक हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सोयाबिन तेलको निर्यात मूल्य ३० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यसले कुल निर्यातको ४२.१८ प्रतिशत हिस्सा बनाएको छ ।

त्यसपछि ऊन वा जनावरको रौँबाट बनेका गलैंचा २ अर्ब ५७ करोड (३.५४%), सफ्लावर तेल २ अर्ब १३ करोड (२.९४%), फेल्ट १ अर्ब ७३ करोड (२.३९%), पाम तेल १ अर्ब ७३ करोड (२.३८%), ठूलो अलैंची १ अर्ब ६७ करोड (२.३१%) र जुट वा फाइबरबाट बनेका कपडा १ अर्ब ५९ करोड (२.१८%) बराबर निर्यात भएका छन् । त्यस्तै, धागोको निर्यात पनि एक अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसले कुल निर्यातमा १.९६ प्रतिशत योगदान पु¥याएको छ ।