गृहमन्त्रीद्वारा ७०औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी तथा अमर प्रहरी सन्तानलाई सम्मान


काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरीसँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताएका छन्  । उनले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिए ।

७०औँ प्रहरी दिवसको अवसरमा शुक्रवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन्  ।  समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरे । साथै उनले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरे ।

सो अवसरमा गृहमन्त्री अर्यालले सुनसरी इनरूवा नगरपालिका–१ का अमर प्रहरी स्वर्गीय प्रहरी हवल्दार बेदराज भण्डारीकी छोरी वेनिका भण्डारी र मोरङ रतुवामाई नगरपालिका– ५ का अमर प्रहरी स्वर्गीय प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको छोरा निखिल ठाकुरलाई अच्युत–मिना अमर प्रहरी पुरस्कार तथा बैतडी शिवनाथ गाँउपालिका–२ का अमर प्रहरी जवान शेर सिंह साउदको छोरा अनिल साउद र अछाम बान्नीगढी जयगढ गाँउपालिका–५ का अमर प्रहरी जवान राम बहादुर साउदको छोरी नविना साउदलाई अच्युत–मिना अमर प्रहरी छात्रवृत्ति प्रदान गरे । 

साथै, उनले नुवाकोट विदुर नगरपालिका–११ का अशक्त प्रहरी नायव निरीक्षक हित बहादुर तामाङकी छोरी आशिका लामा र सर्लाही विष्णु गाउँपालिका–६ का अमर प्रहरी जवान विन्देश्वर साहको छोरा अनजय कुमार साहलाई मोति कला मिथिला अमर प्रहरी छात्रवृत्ति प्रदान गरे।