नेप्सेका कर्मचारी २५ दिनदेखि अनिश्चितकालीन आन्दोलनमा, अध्यक्ष र सीईओको राजीनामा माग


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरू बोनससम्बन्धी मुद्दामा श्रम अदालत र श्रम कार्यालयको आदेश पालना नभएको भन्दै विगत २५ दिनदेखि अनिश्चित कालीन आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारीहरूले नेप्सेमा पुनर्संरचना, संस्थाको सुदृढीकरण, पारदर्शिता र दीर्घकालीन स्थायित्वका लागि वर्तमान नेतृत्व असक्षम र प्रतिशोधपूर्ण रहेको आरोप लगाउँदै, सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँको राजीनामा माग गरेका छन् ।

आन्दोलनका मुख्य प्रतिनिधि नवराज थापाका अनुसार सीईओले बजार सञ्चालनका लागि आवश्यक क्षमता नभएको र संस्थाको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न अक्षम भएको कारण उनका राजीनामा आवश्यक छ । अध्यक्ष हेमन्त बस्यालले युट्युब लगायत विभिन्न सञ्चार माध्यममा कर्मचारीहरूलाई धम्काउने र कार्य वातावरण बिथोल्ने गतिविधि गरेको भन्दै उनको पनि राजीनामा माग गरिएको छ ।

नेप्सेका कर्मचारी भने संस्थाको आन्तरिक व्यवस्थापनप्रति असन्तुष्ट रहेको जनाइएको छ । उनीहरू संस्थामा पारदर्शिता अभाव, गैर कानुनी हस्तक्षेप र पदाधिकारीबाट भएको निजी स्वार्थमा आधारित निर्णयविरुद्ध आन्दोलित भएका हुन् । अध्यक्ष र सीईओ दुवैको राजीनामाको माग गर्दै कार्यकक्षमा तालाबन्दी, कालोपट्टि बाँधेर धर्ना र कार्य बन्द जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै नेप्से कर्मचारी सङ्घका अध्यक्ष थापाले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

थापाले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भनेका छन्, ‘सीईओ र अध्यक्ष दुवैको नेतृत्व अपरिपक्व छ, काम अगाडि बढाउने क्षमता छैन। संस्थाको स्पष्ट कार्य योजना तयार गर्न समेत सीईओ कमजोर छन्। तर, आन्दोलनले नेप्सेको कामकाजमा कुनै असर पारेको छैन ।’ यसैबीच, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि आन्दोलनले कामकाज प्रभावित नभएको बताए । उनले भने, ‘उनीहरूले हातमा कालोपट्टि बाँधेर आन्दोलन गरिरहेका छन्, तर सीईओबाट हुनुपर्ने अन्य कामहरू भने नियमित रूपमा भइरहेको छ ।’