काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) लगातार बढिरहेको देखाउँछ । तर, साना लगानीकर्ताहरूको आकर्षण भने खस्किँदै गएको देखिन्छ ।
चालु आर्थिक वर्ष ०८२/८३ को भदौ मसान्तसम्म यस्तो कर्जा प्रवाह १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो रकम ९९ अर्ब ७६ करोड रुपैयाँ मात्र थियो । यसरी हेर्दा एक वर्षको अवधिमा करिब ४५ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भएको हो । चालु आवको पहिलो दुई महिनामात्रैमा पनि मार्जिन ऋण ३.५ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
तर यो वृद्धि सन्तुलित छैन । राष्ट्र बैंकका अनुसार, शेयर धितो कर्जा ठूला ऋणीहरूमा केन्द्रित हुँदै गएको छ । १ करोड रुपैयाँभन्दा माथिका ऋणीहरूलाई दिइएको ऋण भदौ मसान्तमा पुग्दा १ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यो असार मसान्तमा ९८ अर्ब ९२ करोड रुपैयाँ मात्र थियो ।
यसरी ठूला ऋणीहरूको कर्जा प्रवाह दुई महिनामा ३ अर्ब ३९ करोड रुपैयाँ (३.४ प्रतिशत) बढेको छ। सोही अवधिमा, ५० लाखदेखि १ करोड रुपैयाँबीचका ऋणीहरूलाई दिइएको ऋण पनि ११.७ प्रतिशतले बढ्दै १७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । तर, साना लगानीकर्ताको स्थितिलाई हेर्दा चित्र उल्टो छ ।
२५ लाखदेखि ५० लाख रुपैयाँबीचका ऋणीहरूलाई दिइने कर्जा असार मसान्तमा १७ अर्ब ५६ करोड रुपैयाँ थियो, तर भदौ मसान्तमा घटेर १७ अर्ब २६ करोड रुपैयाँमा सीमित भयो । यो १.७ प्रतिशतको गिरावट हो । त्यस्तै, २५ लाख रुपैयाँभन्दा कम ऋण लिनेहरूका लागि कर्जा पनि घट्दै गएको छ । असार मसान्तमा ८ अर्ब १७ करोड रुपैयाँ रहेको ऋण भदौमा झरेर ८ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ, यो ०.८ प्रतिशतको कमी हो।
यी तथ्यांकहरूले बैंकहरू अहिले साना लगानीकर्ताप्रति भन्दा ठूला धितो भएका ग्राहकहरूमा बढी केन्द्रित हुन थालेको देखाएको छ । आर्थिक अनिश्चितता र लगानीको सुस्त गतिका कारण बैंकहरूले जोखिम न्यूनीकरणका लागि स्थायित्व भएका ठूला ऋणीहरूलाई प्राथमिकता दिएका छन् ।

यद्यपि शेयर बजारको स्थायित्वको लागि ठूला र संस्थागत लगानीकर्ताको आकर्षण बढ्नु उपयुक्त मानिन्छ । पछिल्लो समय शेयर बजारमा देखिएको अस्थिरता र निक्षेपको ब्याजदरको घट्दो प्रवृत्तिले ठूला धितो राख्न सक्ने ऋणीहरूको प्रभाव झन् बढाउँदै लगेको विश्लेषण गरिएको छ । बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ताहरू पनि ऋण लिएर शेयर बजारमा आकर्षित कम भएको हुनसक्ने जानकारहरू बताउँछन् ।



About Us
प्रतिक्रिया