अन्तरिम सरकारले सङ्खुवासभाको बजेट काटेपछि तत्कालीन ऊर्जामन्त्री खड्का असन्तुष्ट, भने – विकास गर्नु गलत भए सजाय भोग्न तयार


काठमाडौं – अन्तरिम सरकारले सङ्खुवासभाको बजेट रोकेपछि निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री असन्तुष्ट बनेका छन् । भदौ २३ को दमनपूर्ण र २४ गतेको विध्वंसपूर्ण जेनजी आन्दोलनका कारण तत्कालीन सरकारले ढलेपछि गठन भएको अन्तरिम सरकारले सङ्खुवासभाको बजेट रोकेको भन्ने विषयमा प्रतिक्रिया दिँदै खड्काले असन्तुष्टि जनाएका हुन्।

उनले अघिल्लो बजेट ल्याउने सरकार अर्कै र कार्यान्वयनका लागि आफूहरू पुगेको स्मरण गराए । यस्तै, अहिलेको बजेट भने तत्कालीन सरकारले ल्याएकाले उनले देशभरको बजेट रोक्न चुनौती समेत दिए। ‘सङ्खुवासभा पहाडी जिल्ला हो। अति दुर्गम समेत हो,’ उनले भने, ‘बल्लबल्ल मन्त्री पाएको थियो । उनीहरूको आस थियो होला।’

‘विकट जिल्लालाई विकासमा अघि लैजानका लागि ठुला आयोजना सुरु गर्नु सजाय हो भने जत्रो सजाय पनि भोग्न तयार छु,’ खड्काले भने । गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान ऊर्जामन्त्री देश छाडेर भागेको भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि सार्वजनिक हुँदै खड्काले आफू मात्रै नभएर नेपाली काँग्रेसको कोही नेता नभाग्ने बताए ।