काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ। अख्तियारका अनुसार भण्डारीले जिल्ला काभ्रेपलान्चोकको साविक दोलालघाट गाविस–७ मा रहेका फिल्ड बुकमा दर्ता छुट भएका जग्गा हकवाला धनीको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगबाट खटिएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसारको कसुरमा दोषी ठहर गर्न माग दाबी गरिएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार, आरोप पत्रमा २ लाख बराबरको बिगो कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवाना माग गरिएको छ।






About Us
प्रतिक्रिया