ग्लोबल आईएमई बैंकका सबै कर्मचारीहरुको कोरोना बीमा


बैकिङ्ग समाचार ।
ग्लोबल आईएमई बैंकले सबै कर्मचारीहरुको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ । बैंकले बढ्दो संक्रमणलाई मध्यनजर गर्दैै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको हो ।

बैंकले यस विषम र प्रतिकूल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको हो ।

बैंकले आफ्नो हरेक कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमा दाबी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बीमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

ग्लोबल आईएमई बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षितरुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।

ग्लोबल आईएमई बैंकले कोरोनाको यस महामारीबाट आफ्ना कर्मचारीवर्ग, ग्राहकवर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव दिँदै आएको छ ।

Skip This