बालेनले किसानलाई ‘फोहाेर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न चेतावनी


काठमाडौं- अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ। मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय छ।’

महासंघले यस्तो अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको भन्दै महानगरको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो टिप्पणी हुनु दु:खद भएको जनाएको छ।

महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ। अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ।