काठमाडौं – सर्वसाधारण नागरिकलाई ललाइफकाई भारतमा लगी मिर्गौलाको अवैध बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको विशेष टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये एक जना रामेछाप मन्थली नगरपालिका–१६ घर भई हाल बुढानीलकण्ठ नगरपालिका–१२, काठमाडौं बस्ने ३४ वर्षीय मोतिलाल तामाङ रहेका छन् । अर्का व्यक्ति सुनसरी इटहरी नगरपालिका–१९ बस्ने ४७ वर्षीय नारायण बन हुन् ।
प्रहरीका अनुसार उनीहरू सर्वसाधारणलाई विदेशमा राम्रो रोजगारीको प्रलोभन देखाई भारतमा लैजाने र त्यहाँ पुगेर मिर्गौला बिक्री गर्न दबाब दिने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया