राष्ट्र बैंकको नियम उल्लंघन गर्ने कुमारी, प्राइम र हिमालयन बैंकहरुलाई  करोडौं जरिवाना

राष्ट्र बैंकको नियम उल्लंघन गर्ने कुमारी, प्राइम र हिमालयन बैंकहरुलाई  करोडौं जरिवाना


बैंकिङ्ग समाचार, काठमाडौं । 
 नेपाल राष्ट्र बैंकको ‘क’ वर्गका ३ वाणिज्य बैंकहरू हिमालयन बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गरेको कारण तीन वाणिज्य बैंकहरु कारबाहीमा  परेका हुन ।

जसमा कुमारी र हिमालयन बैंक कर्जा र स्रोत परिचालन अनुपालन गर्दा कारबाहीमा परेका छन्। कुमारीले कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) तोकिएको सीमा अर्थात ९० प्रतिशतभन्दा बढी कायम गर्दा नगद जरिवानामा परेको छ। कुमारीले २०७९ माघमा ९० प्रतिशतभन्दा बढी सिडी रेसियो कटाएर व्यवसाय गर्दा ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिरेको थियो।

त्यसैगरी हिमालयन बैंकले गत आवको कात्तिकमा सिडी रेसियो ९० प्रतिशतमाथि राखेर व्यवसाय गर्दा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिरेको हो।

प्राइम कमर्सियल राष्ट्र बैंकको अन्य कारबाहीमा परेको छ। दिइएका तीन निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा बैंकका सिइओ नारायणदास मानन्धरलाई राष्ट्र बैंकले नसिहत अर्थात बोलाएर सचेत गराएको हो। राष्ट्र बैंकले गल्तीको सजायमा राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ बमोजिम प्राइम बैंकका सिइओ मानन्धरलाई सचेत गराएको उल्लेख गरेको छ।

बैंकले एकीकृत निर्देशन २०७९ निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था गरेको हो। बैंकले गत आवको चौथो त्रैमासमा ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भार सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको थियो।  साथै, बैंकले प्रिमियम दर बढाएर ब्याज असुल गरेको थियो।

\"\"

 

\"\"