काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको अभियोग पत्र अदालतमा दर्ता भएको छ । महराविरुद्धको जिल्ला सरकारी वकिलले पेस गरेको अभियोग पत्र काठमाडौं जिल्ला अदालतमा दर्ता भएको हो ।
अभियोग पत्रमा महारालाई ८ करोड ५५ लाख रुपैयाँ बिगो र तीन वर्ष कैद सजाय माग दाबी गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो।
२०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप) मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महराको संलग्नता देखिएको ठहर गर्दै पूरक अभियोग पत्र दायर गरिएको हो। सो पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी बनाइएको छ।
सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पनि महरालाई उक्त प्रकरणमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो । महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ।






About Us
प्रतिक्रिया