सशस्त्र प्रहरी निरीक्षक ढकालसहित दुई जनामाथि घुस प्रकरणमा आरोप पत्र दायर, १५ हजार बिगो दाबी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगाँवास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

खत्रीले सीमा पारी भारतबाट भन्सार छली अवैधरुपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको प्रकरणमा अनुसन्धानको सिलसिलामा ढकाल र खत्रीको आपसी मिलेमतो तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको खुल्न आएको अख्तियारले जनाएको हो । 

अख्तियारको बुटवल कार्यालयबाट खटिई गएको टोलीले  खत्रीलाई सेवाग्राहीबाट १५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अख्तियारका अनुसार जवान खत्रीले भारतबाट भन्सार छली अवैधरूपमा कपडा तथा किराना सामान ल्याउने व्यक्तिहरूसँग सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए । 

अनुसन्धानबाट खत्रीले कार्यालय प्रमुख ढकालसँग मिलेमतो गरी भारतको दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा घुस मागेको र सो रकम पूर्व योजनाअनुसार खत्रीमार्फत लिइएको प्रमाणित भएको अख्तियारले जनाएको छ। अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुरमा १५ हजार बिगो कायम गरी सोही ऐनअनुसार कैद र जरिवानाको सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।