काठमाडौं – पुँजी बजार सुधारका लागि विभिन्न लगानीकर्ता संघ संगठन प्रतिनिधिहरूबीच धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ । आज असोज २२ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग विभिन्न लगानीकर्ता संघका लगानीकर्ता पुँजी बजार सुधारका लागि छलफल सम्पन्न भएको हो ।
छलफलका क्रममा गभर्नरले वर्तमान आर्थिक अवस्थामा सबै पक्ष संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले शेयर बजारमा राजनीतिक र सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्ने हुनाले अर्थतन्त्रका सबै निकाय तथा सरोकारवालाहरूले आर्थिक व्यवहारका हरेक पक्षमा सतर्कता अपनाउँदै सकारात्मक गतिविधिलाई प्रवर्द्धन गर्न आवश्यक रहेको विचार समेत व्यक्त गरेका छन् ।
लगानीकर्ताका प्रतिनिधिहरूले गभर्नर पौडेलको विचारप्रति ऐक्यबद्धता जनाउँदै, बजारमा सकारात्मक वातावरण सिर्जना गर्न नियामक निकायको अभिभावकीय भूमिका अपरिहार्य रहेको बताएका छन् । बजारमा तत्काल आत्मविश्वास फर्काउन र संरचनागत सुधार गर्नका लागि राष्ट्र बैंकको स्तरबाट नीतिगत व्यवस्थाहरू तत्काल लागू गर्न ५ बुँदे एकीकृत सुझाव समेत पेस गरेका थिए ।
जसमा धितो कर्जाको मार्जिन ८०/२० कायम गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाथि लगाइएको २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्ने । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशमा लगाइएको सीमालाई पूर्ण रूपमा हटाउने जस्ता सुझावहरु पेश गरेका छन् ।
त्यसैगरी, हालको असहज परिस्थितिलाई मध्यनजर गरी लगानीकर्ताहरूले बुझाउनुपर्ने ब्याज भुक्तानीको म्याद थप गरी सो अवधिभित्र तिर्दा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्ने, यससँगै, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू तथा सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत लगानीकर्ताहरूलाई आफ्नो लगानीयोग्य पुँजीको एक निश्चित प्रतिशत रकम अनिवार्य रूपमा धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने जस्ता सुभाव लगानीकर्ताहरू दिएका छन् ।
साथै, बैंक तथा वित्तीय संस्था र गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानी गर्नका लागि थप सहज र बिना सर्त पहुँचको व्यवस्था मिलाउने जस्ता सुझाव गभर्नर समक्ष राखेका थिए । सो सुझावहरू ग्रहण गर्दै गभर्नर पौडेलले बजारको स्थायित्व र विकासका लागि राष्ट्र बैंक सकारात्मक रहेको र प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्ने आश्वासन समेत दिएको बताएका छन् ।
उक्त छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतु जङ्ग जि.सी. एवं नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल लगायतको उपस्थिति रहेको थियो।



About Us
प्रतिक्रिया