काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्व मन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नयाँ शक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यो प्रकरण पोखराको लिची बगान क्षेत्रको सरकारी जग्गा हिनामिना गर्ने प्रयास र सो क्रममा भएको घूसको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि सार्वजनिक चासोमा आएको हो। अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
तत्कालिन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाखको घुस डिल गरेको अडियोसमेतलाई अनुसन्धान गरेका आधारमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आयोगले तत्कालिन मन्त्री गुप्ताविरुद्ध ७८ लाख रुपैयाँ , पूर्वमन्त्री श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ , मालपोत कार्यालय, कास्की, पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख रुपैयाँ , घरजग्गा व्यवसायी/बिचौलिया प्रतिवादी सुजन लामा वा सुजनकुमार लामा भन्ने सुजनकुमार तामाङविरुद्ध ७८ लाख रुपैयाँ , प्रतिवादी खेम पुन भन्ने खमबहादुर पुनविरुद्ध २५ लाख रुपैयाँ , प्रतिवादी यामकुमारी गुरुङविरुद्ध ७८ लाख रुपैयाँ , प्रतिवादी तुल्सीराम बुढा मगरविरुद्ध ७८ लाख रुपैयाँ विगोसहित कसुर तथा सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।






About Us
प्रतिक्रिया