बाढी पहिरोबाट क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब खर्च हुने अनुमान, अवरुद्ध सडक खोल्न उच्च प्राथमिकता: मन्त्री घिसिङ


काठमाडौं- हालैको बाढी पहिरोका कारण क्षति पुगेका सडक र पूर्वाधारहरूको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्ले मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलमा ठुलो क्षति पुर्‍याएको छ। ती संरचनाको पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै, गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि बाँकी १ अर्ब ७० करोड रुपैयाँ पनि यस वर्ष खर्च गर्नुपर्नेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी पहिरोबाट अवरुद्ध भएका सडक खुलाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

‘अवरुद्ध सडक सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति तत्काल परिचालन गरिएको छ। म र मन्त्रालयका अधिकारीहरूले कामको नियमित अनुगमन गरिरहेका छौँ,’ मन्त्री घिसिङले भने।

मन्त्रालयका अनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा धेरै क्षति राजमार्गहरूमा पुगेको छ।मेची राजमार्गको पुनर्निर्माणका लागि मात्रै करिब १ अर्ब ५० करोड रुपैयाँ,र कोशी, मध्य पहाडी, हुलाकी, अरनिको, कान्ति, नारायण घाट–मुग्लिङ लगायतका राजमार्गहरूको पुनर्निर्माणमा झन्डै ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ, नयाँ बेलिब्रिज निर्माण र क्षतिग्रस्त बेलिब्रिज प्रतिस्थापनका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक पुनर्निर्माणका लागि करिब १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान छ।