दक्षिण एसियाकै न्यून आर्थिक वृद्धि गर्दै नेपाल, भुटानको सबैभन्दा धेरै

जेनजी आन्दोलनको प्रभाव अर्थतन्त्रमा, चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सिमित


काठमाडौं । विश्व बैंकले सन् २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको विकास ‘अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो ।

यस्तै, विश्व बैंकले सन् २०२६/२७ मा भने नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो भनेको आर्थिक वर्ष २०८३/८४ हो । यसबाहेक, सन् २०२४/२५ मा नेपालले ४.६ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको विश्व बैंकले जनाएको छ ।

चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्नुमा जेनजी उमेर समूहका युवाहरुले गरेको आन्दोलनलाई मूख्य कारण देखाइएको छ । यसपछि यही असोज १७ र १८ गते आएको विभिन्न ५ वटा प्रदेको बाढी, पहिरो र डुबान समेत मूख्य कारण भएको बताइएको छ ।

विश्व बैंकका अनुसार चालू वर्षमा दक्षिण एसियामा सबैभन्दा धेरै आर्थिक वृद्धि भुटानले गर्ने प्रक्षेपण गरेको छ । तथ्यांकअनुसार भुटानले ७.३ प्रतिशत आर्थिक वृद्धि गर्नेछ भने भारतले ६.५ प्रतिशत, बंगलादेशले ४.८ प्रतिशत र श्रीलंकाले ३.५ तथा माल्दिभ्सले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ ।