क्षतिग्रस्त बीपी राजमार्गमा अस्थायी सडक बनाइँदै


काभ्रेपलाञ्चोक – १८ र १९ असोजमा वर्षापछिको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाब कम हुँदै गएपछि आइबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब ८ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो ।

सोही क्षेत्रको सडकखण्ड शनिबार र आइतबारको बाढीपहिरोले पुनःक्षतिग्रस्त बनाउँदै बगाएको थियो । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाको एक स्थान तथा सिन्धुलीतर्फको अन्य तीन/चार स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिइन् । उनका अनुसार रोशी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनःनिर्माण गरिनेछ ।

शनिबार र आइतबारको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत सिन्धुलीतर्फबाट पनि सोमबारदेखि नै पुनःडाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।

उनका अनुसार सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेले बीपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुईवटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।

सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् ।

बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, माम्तीलगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोशी खोला तथा मंगलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्सेकुनामा हिँड्ने बाटोसमेत छैन । सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मंगलटार तथा सुरक्षित स्थानमा राखिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बीपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा लेदासहितको सानासाना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मंगलटारमा सवारीसाधन साधन ‘होल्ड’ गरिएको थियो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।