चाबहिलका तत्कालीन अधिकृत पुरीविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा दायर

चाबहिलका तत्कालीन अधिकृत पुरीविरूद्ध एक करोडको भ्रष्टाचार मुद्दा दायर


बैकिङ्ग समाचार,काठमाडौं । 

नापी कार्यालय चाबहिलका तत्कालीन नापी अधिकृत राजु पुरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नापी अधिकृत पुरीविरूद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनले २०५२ पुस ९ गते सेवा प्रवेश गरी २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ । 

अख्तियारले उनको आय तर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, उनको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बीमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत मुल्यांकन गरेको थियो ।

मुल्यांकन गर्दा उनको एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ बराबरको आय प्राप्त गरेको देखिएको छ । 

व्ययमा उनकी श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम, रजिष्ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बीमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिद गरेको देखिएको छ । त्यसरी उनले दुई करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको हो । 

व्ययको तुलनामा उनले प्राप्त गरेको आय रकम एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न नसकेको भन्दै पुरीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।