दसैं विशेष

दसैं बिदामा घुम्ने सोच राख्नुभएको छ ? यी हुन सक्छन् सम्भावित १० गन्तव्य


काठमाडौं – पछिल्लो समय नेपालीहरू पनि भ्रमणमा रमाउन थालेका छन् । अझ नेपालीहरूको महान् चाडकारुपमा रहेको दसैं र तिहार लक्षित गरेर घुम्ने प्रचलन व्याप्त बन्दै गएको छ । नेपालीहरू दसैं र तिहारको समयमा देशदेखि विदेश घुम्न सौखिन बन्दै गइरहेका छन् ।

दसैं र तिहारमा एकै पटक लामो बिदा हुने र छुट्टी मिलाएर घुम्न निस्कनेहरूको संख्या बढ्दै गएको देखिन्छ । यसमा विदेशलाई प्राथमिकतामा राखेर घुम्नेहरूको जमात समेत बढ्दो छ । तर, आज हामीले दसैं र तिहारमा घुम्न लायक देशका १० उत्कृष्ट गन्तव्यको सूची तयार पारेका छौँ ।

लामो छुट्टी हुने भएकाले यो अवधिलाई यादगार बनाउने लक्ष्यसहित नेपालीहरू पछिल्लो चरण घुम्ने बानीको विकास गर्दैछन् । जस कारण, हिजोआज दसैंको समयमा परिवारसँग घुम्न जाने चलन छ । यता, दसैं जस्ता ठुला चाड शरद ऋतुमा पर्ने गर्दछन् । शरद ऋतु वसन्त ऋतु जस्तै समशीतोष्ण मौसमको ऋतु हो ।

वर्षा ऋतुको समाप्ति पछि सुरु हुने यो ऋतु प्रकृतिप्रेमीहरूका  लागी निकै रोजाइमा पर्ने गर्छ । यो ऋतुमा ढाकिएको हिमाल घामसँगै उदाउने र फुलहरू पनि फुल्ने समय भएकाले प्रकृतिप्रेमीहरु यस ऋतुलाई विशेष ठान्छन् । 

यो समयमा नेपालमा आन्तरिक पर्यटक मात्रै नभई बाह्य पर्यटक पनि बढी भित्रिने गरेको तथ्यांकहरुले नै देखाउँछ । नेपालको सबैभन्दा ठुलो चाड दसैंको बिदा लामो हुने र शरद ऋतुको मौसम सफा तथा मनोरम हुने भएकाले यो समय घुमघामका लागि उपयुक्त हुने पर्यटकहरूको बुझाई छ ।

यो समयमा घुम्न जानुअघि कहाँ जाने भनेर एक किसिमको तनाव नै हुन्छ । यहाँ हामीले दसैं बिदाको समयमा घुम्न सकिने ठाउँहरू प्रस्तुत गरेका छौँ ।

रुबी भ्याली, धादिङ्ग 

काठमाडौंबाट मात्रै ९५ देखि १२० किलोमिटरको दुरिमा रहेको धादिङ्ग जिल्लामा पर्ने रुबी भ्याली पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गइरहेको छ । रुबी भ्यालीले चीनसँग सिमाना जोडिएको छ । धादिङका १३ पालिकामध्ये सबैभन्दा उत्तरमा रहेका यसको क्षेत्रफल ४०१.८५ वर्ग किमी रहेको छ । त्यहाँ महत्त्वपूर्ण पत्थर समेत पाइन्छ । अहिले पनि तपाईँ त्यता भ्रमण गर्ने क्रममा बाटोमा हिँड्दा कुनै महत्त्वपूर्ण पत्थर पाउन सकिन्छ ।

यहाँ रहेको जंगलमा झारल, नाउर, रेडपाण्डा, कस्तूरी, डाँफे, चितुवा, हिम चितुवा लगायत महत्त्वपूर्ण लोपोन्मुख जनावरका पनि पाइन्छ । विशेषगरी हमालको फेदीमा जान चाहनेलाई यो ठाउँ गन्तव्य बन्न सक्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लामटाङ लगायत हिमशृङ्खला पनि यस क्षेत्रबाट हेर्न सकिन्छ ।

यस क्षेत्रमा चौरी गाई समेत देख्न सकिन्छ भने चौरीका बच्चाहरुसँग खेल्न सकिन्छ । रुबी भ्याली राजधानबाट नजिक रहेका कारण ३–४ दिनको समयमा नै पनि भरपुर मनोरञ्जन लिन सकिन्छ ।

पोखरा, कास्की 

देशकै पर्यटकीय राजधानी घोषणा भएको पोखरा भ्रमणमा रुचि राख्नेहरूको पहिलो प्राथमिकताको ठाउँ हो । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वारको रूपमा पनि पोखरालाई लिन सकिन्छ । पोखरामा तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, पुम्दिकोट स्तुपा लगायत ठाउँहरू छन् ।

धर्ममा आस्था राख्नेहरुलाई पनि पोखरामा प्रशस्त ठाउँहरू रहेका छन् । सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रेजस्ता हिमशृङ्खला हेर्न सकिन्छ भने प्याराग्लाइडिङ गर्न पनि सकिन्छ । काठमाडौंबाट सार्वजनिक बसमा नै जाँदा पनि ६ घण्टाको यात्रामा पुगिने भएकाले यो ठाउँ दसैंको समयमा घुम्न उत्कृष्ट मानिन्छ ।

बन्दीपुर, तनहुँ

तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो बन्दीपुर । बन्दीपुरबाट धौलागिरि, माछापुच्छ्रे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृङ्खला देख्न सकिन्छ । जसले हिमाललाई नजिकैबाट नियाल्ने अवसर पाइन्छ । बन्दीपुरको अर्को आकर्षक पक्ष हो इँटा र कलात्मक झ्याल–ढोकाले बनेका भक्तपुरे नेवार शैलीका पुराना घर ।

बन्दीपुरमा गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन आदि जातिको बसोबास गर्ने गर्छन् । बन्दीपुरमा शिद्ध गुफा छ । बन्दीपुरमा विन्ध्यवासिनी, थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेव लगायतका मन्दिर र गुम्बा छन् । बन्दीपुर घुम्दा मर्स्याङ्दी नदीमा र्याफ्टिङ पनि गर्न सकिन्छ । बन्दीपुरबाट प्याराग्लाइडिङ उडान पनि गरिन्छ । असोजदेखि माघसम्म बन्दीपुर घुम्ने उत्तम समय भएका कारण पनि दसैंमा घुम्न बन्दीपुर रोजाइमा पर्छ ।

भोटेचौर, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जिल्लाको भोटेचौर आन्तरिक र बाह्य पर्यटकका लागी लोकप्रिय गन्तव्य बन्न सक्छ । पछिल्लो समय मिनी इलामका नामले चिनिँदै आएको यस ठाउँमा चिया बगान छ ।  काठमाडौंबाट मात्रै ३८ किलोमिटर दुरीमा रहेको भोटेचौर प्राकृतिक सुन्दरतामा रमाउनेहरूका लागी उत्कृष्ट ठाउँ हो ।

साथै, सिन्धुपाल्चोकमा नै रहेको भोटेकोशीमा रहेको बञ्जी गर्न पनि सकिन्छ । यस्तै, सुकुटेबाट र्याफ्टिङ गर्न पनि सकिन्छ । भोटेकोशीमा रहेको यस बञ्जी ठाउँ विश्वकै उत्कृष्ट र अग्लो बन्जी मध्येको एक हो ।

मुस्ताङ

मुस्ताङ नेपालको निकै प्रसिद्ध ठाउँ हो । धार्मिक रूपमा पनि प्रसिद्ध रहेको यस क्षेत्रमा हिन्दु र बौद्ध धर्मावलम्बीहरु बढी जाने गरेको पाइन्छ । मुस्ताङ हिमाली जिल्ला, प्राचीन तिब्बती संस्कृति, अनौठो भूबनोट र शान्त वातावरणका लागि विश्व प्रसिद्ध छ ।  

एक हजार वर्ष पुराना गुफाहरूमा प्राचीन चित्रकला र धार्मिक वस्तुहरू छन् । जस कारण इतिहास प्रेमीहरूका लागि यो ठाउँ उत्कृष्ट बन्छ । लोमान्थाङको किल्ला र सम्पदा क्षेत्रहरू पनि रहेका छन् । फोटोग्राफर र एडभेन्चर प्रेमीहरूका लागि स्वर्गको रूपमा मनाङलाई लिन सकिन्छ । लोमन्थाङका बासिन्दाहरूले परम्परागत तिब्बती जीवन जिउँने गर्छन् । मनाङमा घोडा चढेर घुम्न सकिन्छ । मनाङसम्म पुग्न सोचे जति गाह्रो भने छैन । पोखराबाट जिप वा हेलिकप्टरबाट जोमसोम हुँदै मनाङ पुग्न सकिन्छ ।

रारा, मुगु

देशकै सबैभन्दा ठुलो ताल हो रारा । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उचाइमा रहेको यस तालले घामको किरणअनुसार रङ फेर्ने गर्छ । रारामा आन्तरिक पर्यटक रोजाइमा पर्ने गरेको छ । रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । नेपालगन्जबाट ५० मिनेटको हवाई यात्रा मुगुको ताल्चा विमानस्थल पुग्न सकिन्छ । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ ।

सौराहा, चितवन 

सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सौराहा जंगल सफारी, वन्यजन्तु अवलोकन र थारू संस्कृति अनुभवका लागि विश्व प्रसिद्ध छ । प्रकृति प्रेमीका लागी पनि सौराहा रोजाइमा पर्ने गर्छ । सौराहामा हात्ती सफारी, जिप सफारी वा पैदल ट्रेकिङबाट एकसिंगे गैंडा, बाघ, मयुर, हिउँचितुवा जस्ता प्राणीहरू अवलोकन गर्न सकिन्छ । राप्ती नदीमा क्यानोइङ वा डुंगा यात्राबाट मगर मगरिया, घडियाल र चराहरू हेर्न सकिन्छ । सूर्यास्त दृश्य र शान्त वातावरणले स्वर्गीय अनुभव दिन्छ । सौरहाबाट ३ किमी टाढा रहेको केन्द्रमा हात्तीहरूको हेरचाह र शिशु हात्तीहरू हेर्न सकिन्छ ।

खप्तड, सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्ज हो खप्तड । यो राष्ट्रिय निकुञ्ज डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको संगमस्थलमा छ । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको यो क्षेत्र मध्य पहाडी वातावरण, जैविक विविधता र धार्मिक महत्वका लागि प्रसिद्ध छ ।

खप्तडमा २२ ठुला पाटन (मैदान), ५२ झोता (थुम्का) र २६ डोप्का (दह) हरु रहेका छन् । खप्तडमा घोडादेवी, त्रिवेणी धाम र सहस्र लिङ्ग जस्ता स्थानहरू रहेका छन् । यस राष्ट्रिय निकुञ्जमा कस्तुरी मृग, बँदेल, डाँफे जस्ता दुर्लभ प्राणीहरू र २००ं प्रजातिका फूलहरू पाइन्छ । खप्तड बाबाको आश्रम, बाबा कुटी, नागढुङ्गा, केदारढुङ्गा र छिन्टेढुङ्गा लगायतका क्षेत्र पनि यहिँ पर्दछन् । साधना र ध्यानका लागि शान्त स्थानको रूपमा पनि विकसित भइरहेको छ ।

स्वर्गद्वारी, प्युठान

प्युठान जिल्लामा पर्ने स्वर्गद्धारी एक प्राचीन र पवित्र धार्मिक स्थल हो । यो स्थान धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । स्वर्गद्वारीलाई नेपालका सात धाममध्ये एक मानिन्छ । पौराणिक कथानुसार, महाभारतका पाण्डवहरूले यहाँ तपस्या गरेका थिए र स्वर्गारोहण गरेका थिए । यसको मुख्य आकर्षण स्वर्गद्वारी मन्दिर हो । जुनमा भगवान शिवको पूजा गरिन्छ । शिव भगवानलाई आस्थाको रूपमा मान्नेहरू यहाँ पुग्ने गर्छन् । 

समुद्री सतहबाट करिब ७,००० फिट उचाइमा अवस्थित यो स्थान शान्त र रमणीय छ । वरिपरि हरियाली जंगल, पहाड र राप्ती नदीको दृश्यले मनलाई आनन्दित बनाउँछ । घुमाउरो बाटो हुँदै उक्लिने यात्रा नै रोमाञ्चक छ ।  यो स्थान प्युठान सदरमुकाम खलङ्गाबाट २६ किमी दूरीमा छ । त्यहाँ, दाङ वा लमही हुँदै सजिलै पुग्न सकिन्छ ।

गोरखा दरबार, गोरखा

गोरखा नेपालको मध्यपश्चिमी हिमाली जिल्ला हो । गोरखा जिल्ला ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । पृथ्वीनारायण शाहको जन्मभूमि भएकोले राष्ट्रिय गौरवको केन्द्र पनि मानिन्छ । त्यहाँ हिमाली दृश्यहरू, प्राचीन दरबारहरू र मन्दिरहरूले पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । शरद ऋतुमा गोरखा घुम्न उत्कृष्ट मानिन्छ । इतिहासमा रुचि राख्नेहरुले गोरखा दरबार र धर्ममा आस्था राख्नेले गोरखा कालिका मन्दिर भ्रमण गर्न सक्छन् । 

गोरखा जिल्लाको उत्तरी भागमा अवस्थित बारपाक सुलिकोट गाउँपालिका नेपालको एक ऐतिहासिक र प्राकृतिक रूपले सुन्दर क्षेत्र बारपाक गाउँ पनि घुम्न सकिन्छ । २०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएकोले पनि विश्वव्यापी रूपमा चिनिएको छ । भूकम्पपछिको निर्माण नयाँ स्वरूपमा पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।