सिटि होटेलको हकप्रद शेयरमा आवेदन दिने अवधि थप


काठमाडौं – सिटी होटेल लिमिटेडले भदौ २३ गतेदेखि बिक्रीमा राखेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको सो हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ।

 कम्पनीले  हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।